झापामा प्रधानमन्त्री ओलीको दशैं

Kp oli
लाेकपाटी न्यूज
0 Shares

बिर्तामोड, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओली दशैं मनाउन झापा आउने भएपछि प्रहरीले झापाको सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रधानमन्त्री ओली कात्तिक १ गते झापा आउने भएका छन् ।

सवारी चेकजाँच देखि सीमाक्षेत्रमा हुने आवत जावत र ओसारपसारमा समेत कडाई गरिएको झापा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालका अनुसार शनिवार देखिनै झापाको सुरक्षा व्यवस्थालाई अझै मजबुत बनाइएको छ ।

‘चाडपर्वमा अपराधिक गतिबिधि अलिक बढी हुन सक्छ, त्यसैले सुरक्षा र जाँचलाई प्रमुख प्राथमिकता दिएको छ’, प्रमुख ढकालले भने । यो पटक दशैं मनाउन प्रधानमन्त्री ओली झापा आउने भएपछि सुरक्षाका लागि गस्ती र चेकजाँचमा थप कडाई गरिएको उनको भनाइ छ । विगतका वर्षहरुमा जस्तै चियापान समारोहलाई निरन्तरता दिन र शुभकामना आदनप्रदान गर्न प्रधानमन्त्री ओली झापा आउन लागेका हुन् ।

चाडपर्वको समयमा प्रहरी र भन्सारका कर्मचारी चेक जाँचमा व्यस्त र बिदामा बस्नाले जनशक्ति कम भएको मौका छोप्दै बिस्फोटक बस्तु र हतियार भित्रन सक्ने अनुमानसहित१ नम्बर प्रदेश कुकुर शाखा धरानबाट कुकुर ल्याएर पनि झापाका मुख्य बजारमा अनुुसन्धान र जाँच सुरु गरिएको प्रमुख ढकालले बताए ।

प्रदेश शाखा धरानबाट बिस्फोटक पदार्थ पत्ता लगाउने कुकुर ल्याएर प्रधानमन्त्री ओलीको गृह नगर दमकका मुख्य स्थानमा चेक जाँच गरिएको छ ।

आइतबार बिर्तामोडको मुख्य व्यापारिक स्थलमा कुकुरको सहयोगमा चेकजाँच गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

‘चाडपर्वमा ठुला बजारमा भीडभाड हुन्छ, ती स्थानमा बिस्फोटक पदार्थ लुकाएको पनि हुन सक्ने आशंकामा बिर्तामोडको चोक क्षेत्रमा रहेका ठुला बजार र कृषि बजारमा चेक जाँच गरिएको हो’, कोइरालाले भने । उनका अनुसार आइतबार विहान बजारमा भीड लागेको समयमा चेक गरिएको हो ।

कोेइरालाले कुकुर ल्याएर सुरक्षा जाँच गर्दा अनुसन्धान अझै प्रभावकारी भएको पनि बताए । प्रदेश १ का लागि धरानमा १ नम्बर कुकुर प्रदेश शाखा रहको र आवश्यक परे त्यहाँबाट विभिन्न अनुसन्धानमा पोख्त कुकुरलाई ल्याएर झापामा पनि चेकजाँच गर्ने गरिएको कोइरालाको भनाई छ ।

शनिवार झापाको लागी बिस्फोटक पदार्थको अनुसन्धान गर्न पोख्त कुकुर झिकाएर अनसन्धान गरीएको १ नम्बर प्रदेश कुकुर प्रदेश शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक दयानन्द श्रेष्ठले बताए ।

उनका अनुसार झापाको काँकडभिट्टा र चन्द्रगढीमा पनि कुकुरले अनुसन्धान गर्नेछ । १ नम्बर प्रदेश कुकुर प्रदेश शाखामा विभिन्न बिधाको अनुसन्धानमा पोख्त १० वटा कुकुर छन् ।

तीनवटा विराटनगर एयरपोर्टमा, २ वटा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरमा र एउटा विस्फोटक पदार्थको चेक गर्ने कुकुर विराटनगरमै रहेका छन् । अन्य चारवटा कुकुर धरानमा रहेको प्रहरीले बताएको छ ।