महानिरीक्षक खनालले भने – नीतिविपरीत काम गर्ने प्रहरी तत्काल सजायको भागीदार हुने

IGP-sarbendra-khanal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २८ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सङ्गठनले गरेको अपेक्षा पूरा गर्न दृढताका साथ लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
गृह मन्त्रालय, मन्त्रिस्तरको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नति भएका अधिकृतलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गर्दै उनले नेतृत्व, निर्णय क्षमता, साङ्गठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।
इमान्दार, सक्षम र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीबाट नागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने उल्लेख गर्दै महानिरीक्षक खनालले दशैँ, तिहारजस्ता पर्वमा अवाञ्छित गतिविधी नियन्त्रण गर्नका लागि त्रुटि नआउने गरी काम गर्न निर्देशन दिएका हुन्। सङ्गठनको नीतिविपरीत काम गर्ने कर्मचारी तत्काल सजायको भागीदार हुने उनको भनाइ थियो। महानिरीक्षक खनालले प्रहरीले लागू गर्न लागेको समुदाय साझेदार प्रहरी अवधारणाले संगठनमा थप गतिशीलता ल्याउने बताए।
दर्ज्यानी चिह्न प्राप्त गर्नेमा प्रहरी नायब महानिरीक्षकमा विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, ठाकुरप्रसाद ज्ञवाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, नीरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापति र सूर्यप्रसाद उपाध्याय हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्