दशैं सुरु भएसँगै यातायात दुर्घटनामा वृद्धि

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २९ असोज । दशैंको लागि गाउँ घर जानेको चाप ह्वात्तै बढेको छ । अहिलेसम्म दसैँका लागि भनेर १३ लाख भन्दा धेरै यात्रुले काठमाडौं छोडिसकेका छन् ।

दशैंमा यात्रु र गाडीको चाप बढेसँगै दुर्घटना पनि बढेको छ । पछिल्लो ५ दिन यता गाडी दुर्घटनामा ३४ जनाले ज्यान गुमाएका छन् ।

प्रहरीको तथ्याङ्कअनुसार घटस्थापनाका दिनदेखि आज सोमबारसम्ममा २१३ वटा दुर्घटना भएको छ । यी दुर्घटनामा ३४ जनाको ज्यान गएको छ भने १४५ जना घाइते भएका छन् । यस्तै, ५५ जना गम्भीर घाइते भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै १५१ वटा दुर्घटना भएको छ । जसमा ७ जनाको ज्यान गएको छ ।

यस्तै, धादिङ, इटहरी, कोहलपुर, अत्तरिया, बुटवल, गुल्मी लगायत ठाउँमा भएका दुर्घटनामा २७ जनाले ज्यान गुमाएको प्रहरीको अध्ययनले देखाएको छ ।

सोमबार बिहानमात्रै गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । यो तथ्याङ्कले दशैं लागेसँगै दुर्घटनाको जोखिम पनि बढेको देखाएको छ ।

गएको वर्षको दशैंमा घटस्थापनादेखि पूर्णिमासम्म ३८० वटा दुर्घटना भएको थियो । त्यसमा १०४ जनाले ज्यान गुमाएका थिए ।

लापरवाहीका कारण बढ्यो दुर्घटना
चाडपर्व सुरु भएसँगै लापरवाही पनि बढेकाले दुर्घटना बढेको प्रहरी प्रवक्ता शैलेस थापाले बताए ।

चाडपर्व भन्दै केहीले जाँड रक्सी खाएर गाडी चलाउँदा, गाडीको भार क्षमताभन्दा धेरै यात्रु राख्दा र ग्रामीण क्षेत्रका सडकको अवस्थाका कारण दुर्घटना बढेको उनले बताए ।

यस्तै दशैं त हो नि भनेर अभिभावकले सवारी अनुमति पत्र लाइसेन्स नभएका छोराछोरीलाई मोटरसाइकल तथा स्कुटर किनिदिने गरेकाले पनि दुर्घटना बढेको पाइएको छ । चाडपर्व नजिकिएसँगै हरेक वर्ष गाडी दुर्घटना बढ्ने गरेको छ ।

दुर्घटना न्यूनीकरणका लागि २३ सय प्रहरी परिचालन

चाडपर्वमा बढ्दो दुर्घटना कम गर्न भन्दै देशभर थप २३ सय प्रहरी खटिएका छन् । खटिएका प्रहरीले ठाउँ ठाउँमा सुरक्षाका साथै चालकले जाँड रक्सी खाए नखाएको बारे जाँच गर्ने गरेका छन् ।

यस्तै दुर्घटना हुन सक्ने सम्भावित ठाउँमा मोटरसाइकलसहित प्रहरी खटिएका छन् । तर यति हुँदाहुँदै पनि व्यक्ति आफैँ सचेत नहुँदा दुर्घटना बढेको प्रहरीको निष्कर्ष छ ।

लामो दूरीका लागि आराम कक्ष

दुर्घटना रोक्नका लागि यसपाली प्रहरीले चालकका लागि आराम कक्षकोसमेत व्यवस्था गरेको छ । अहिले हरेक सात प्रदेशका मुख्य मुख्य राजमार्गमा दुई –दुई वटा आराम कक्ष स्थापना गर्ने तयारी गरेको छ ।

अहिले एउटा एउटा आराम कक्ष स्थापना भइसकेको छ । थप आराम कक्ष बनाउने काम भइरहेको प्रहरी प्रवक्ता शैलेस थापाले जानकारी दिए । आराम कक्षमा चालकले कम्तिमा पनि एक घण्टा आराम गर्नैपर्ने नियम बनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्