काठमाडौं, १ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद महेश बस्नेतले वर्तमान सरकारका बारेमा समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय नभएको बताएका छन्।
एक साक्षात्कार कार्यक्रममा बस्नेतले सरकार सञ्चालन भएको तथा सङ्घीयता कार्यान्वयन भएको सात महीना भएकाले आजका दिनसम्म भएको सरकारका कामकारवाही, नीति नियम, कार्ययोजनालगायत कुराको समीक्षा जरुरी रहेको बताए।
सरकारले ल्याएको बजेट वितरणमुखीभन्दा पनि सङ्कलनमुखी भएको बताउँदै बस्नेतले वर्तमान सरकारको समयमा ३१ प्रतिशतले राजश्व वृद्धि भएको बताए।
उनले करबारेको हल्ला बढी, वास्तविकता कम भएको बताउँदै स्थानीय तहले जनतालाई समस्या हुने कुनै पनि प्रकारको करको वृद्धि नगरेको बताए।
सांसद बस्नेतले स्थानीय सरकारमा कुनै सत्तापक्ष र प्रतिपक्ष नहुने जिकिर गर्दै स्थानीय तहका राम्रा र नराम्रा दुवै कार्यको जिम्मेवारी सबैको बराबर हुने धारणा राखे। उनले भने, “कार्यका आधारमा ५५ प्रतिशत नगरपालिका वा गाउँपालिकाको प्रमुखले जिम्मा लिनुपर्छ भने ४५ प्रतिशतको जिम्मा अरु सबैले लिनुपर्छ।” उनले स्थानीय तहमा कर्मचारी अभावका कारण काममा समस्या आएको स्वीकार गरे।
अन्तर्राष्ट्रिय रङ्गशाला, प्राणी उद्यान, सभागृह, राजमार्ग, सुरुङ मार्ग, रेलमार्ग, जलमार्ग, एक प्रदेशदेखि अर्को प्रदेशका बीचमा गर्नुपर्ने विकास, स्मार्ट सिटी, ठूलाठूला विद्युत् उत्पादनलगायत विकासनिर्माण स्थानीय तथा प्रदेश सरकारले नभई सङ्घीय सरकारले गर्ने उनले बताए।
बस्नेतले राष्ट्र र राष्ट्रियताको पक्षमा वर्तमान सरकार कटिबद्ध रहेको बताउँदै भने, “मुलुकको सार्वभौमिक अखण्डतामाथि नै चुनौती दिने गरेर एकातिर सिके राउतका गतिविधि र अर्कोतर्फ आतकङ्वादलाई नै समर्थन गर्ने ढङ्गले विप्लव समूहको गतिविधि भएका छन्। त्यस्ता अराजक प्रवृत्तिका गतिविधि र विखण्डनकारी गतिविधिलाई सरकारले नियन्त्रण गर्दा राज्यको आलोचना गर्ने मानवअधिकारवादी र घुमाइफिराइ त्यसलाई समर्थन गर्ने न्यायालयको व्यवहार चाहिँआज समीक्षाको विषय बनेको छ।”
उनले निर्मला पन्तको घटनालाई जोडेर नेपालको शान्ति र सुरक्षालाई कमजोर ठान्नु गलत हो भन्दै सत्यतथ्यसहित दोषीलाई सरकारले कानूनी दायरामा ल्याउनैपर्नेमा जोड दिए।
अब सरकारको समीक्षा हुन्छ: महेश बस्नेत

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्