काठमाडौं, ३ कार्तिक । विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै शनिबार तीन टन फोहर संकलन गरिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरको संगम स्थलमा शनिबार भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औँ हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औँ हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो।
उक्त अभियानमा नेपाल चलचित्र बोर्डका अध्यक्ष, त्रीपुरा संगम समाज तथा हनुमन्ते नदी सफाइ अभियानका सल्लाहकार स्व. रामकेशर बोगटीको निधनको आज १२औँ दिनमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सफाइ कार्यक्रम गरियो।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्व. बोगटीका योजना तथा अधुरा काम सम्पन्न गर्नु नै उनको सच्चा श्रद्धाञ्जलि हुने बताए।
कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बोगटीले चलचित्रको माध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउँदै चलचित्र क्षेत्रलाई व्यवसायिक तथा प्रतिस्पर्धी बनाउन सफल भएको बताए।
नेपाली सेना, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा स्थानीयवासी गरी करीब २०० जना रहेको उक्त सफाइ अभियानबाट आज करीव तीन टन फोहर संकलन गरिएको मनोहरा सफाइ सम्पदा बचाउ महाअभियान तथा हनुमन्ते नदी सफाइका उत्प्रेरक रुद्र पौडेलले बताए।