काठमाडौँ: प्रहरीले घटस्थापना अगाडिदेखि नै लागू गरेको विशेष चाडपर्व सुरक्षा योजना राजधानीमा प्रभावकारी भएको प्रहरीको दाबी छ। अन्य वर्षको तुलनामा यो वर्षको दशैंमा कम आपराधिक गतिविधि र घटना भएको प्रहरी दाबी छ।
महानगरीय प्रहरी परिसर काठमाडौँ नेतृत्वमा यस पटक घटस्थापना अगाडि नै दशैं सुरक्षा योजना लागु गरेको थियो। दशैं सुरक्षाको लागि भन्दै ३५ सय प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको सक्रियता र दशैं अगाडि देखि नै योजनाबद्ध रुपले काम भएकाले ‘क्राइम कन्ट्रोल्ड’ भएको परिसरका प्रमुख एसएसपी वसन्त लामा बताउँछन्। एसएसपी लामा भन्छन्, ‘दशैं सुरक्षा योजनाले काम गर्यो। कहीँ कतै ठुला अप्रिय घटना भएनन्।’
दशैं सुरक्षाको लागि परिसरले ६० वटा पैदल गस्ती, ६१ पिकेटिङ, ३६ साइकल गस्ती, ३० वटा हतियार सहित मोटरसाइकल गस्ती, २४ वटा मोटर गस्ती परिचालन गरेको थियो। सयको हाराहारीमा सादा पोसाकमा प्रहरी परिचानल थिए। ‘सादा पोसाकमा परिचालित प्रहरीबाट राम्रो काम भयो। धेरै घटना हुनुभन्दा अगाडि र भए लगत्तै सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिए’ एसएसपी लामाले भने।
उपत्यका भित्रिने नाकामा पनि कडा चेकिङको व्यवस्था भएकाले पनि दशैंमा आपराधिक गतिविधि कम भएको उनको दाबी छ। एसएसपी लामाले भने,’ राजधानी भित्रिने नाकामा कुकुर सहितको जाँच टोली परिचालन भयो। यसले अपराधिको मनोबलमा असर पार्यो।’
दशैको समयमा हुने चोरी समेत नियन्त्रण गरिएको प्रहरीको दाबी छ। यस पटक राजधानीमा दशैंको समयमा ७ वटा मात्र चोरी भएको प्रहरीको दाबी छ। एसएसपी लामा भन्छन्,’ दशैंमा हुने अपराधमा ७० प्रतिशतले कमी आयो। दशैंमा जम्मा ७ वटा मात्र चोरी भए। दुई वटा ठुला तर बाँकी सामान्य चोरी छन्।’
राजधानीको न्युरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बस पार्कलगायत क्षेत्रमा हुने चोरी तथा पकेटमार समेत नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। दशैंको समयमा १ सय १८ जनाभन्दाबढी चोरहरूलाई नियन्त्रणमा लिएको प्रहरीको तथ्याङ्कले देखाउँछन्।
पक्राउ परेका मध्ये ६२ जनालाई साधारण तारिकमा छोडिएको एसएसपी लामाले बताए। ‘दशैं सुरु भए लगतै ६० जना पटके चोरलाई नियन्त्रणमा लिएर निगरानीमा छोडेका थियौँ। यसरी पहिलेदेखि चोरलाई निगरानी गर्दा चोरी कमी भएको हो’ एसएसपी लामाले भने।