काठमाडौं, ५ कार्तिक । पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई दशैंको दिन राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइदिएको टीकाको तस्वीर यति बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
दशैंको दिन सर्वसाधारणलाई राष्ट्रपति भण्डारीले टीका लगाएकी थिइन् । उनीकहाँ टीका थाप्न प्रधानमन्त्री केपी शर्मा ओलीदेखि नेपाल सरकारका मन्त्री र बिशिष्ट व्यक्तिहरु पुगेका थिए । त्यही क्रममा पुगेका थिए पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली ।
शितल निवास पुगेका पराजुलीलाई राष्ट्रपति भण्डारीले भूईंमा घुँडा टेकाएर टीका लगाइदिएकी छिन् । राष्ट्रपति निवासमा टीका थाप्नेहरुका लागि एउटा टुलको पनि व्यवस्था नभएको र राजाहरुले जस्तै अपमान गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
राजतन्त्र कालमा राजाहरुले प्रजालाई त्यसरी नै टीका लगाइदिन्थे । गणतन्त्र कालमा पनि त्यस्तै प्रवृत्ति रहेको भन्दै भण्डारीको आलोचना भएको हो । सार्वजनिक सवारीका क्रममा सडक जाम गरेको भन्दै यसअघि पनि राष्ट्रपतिको आलोचना हुँदै आएको छ ।
सचिवालयको टिम जिम्मेवारी नहुँदा बारम्बार राष्ट्रपतिमाथि आक्रमण भइरहेको एकथरिको भनाइ छ । ‘यो राष्ट्रपतिज्यूको भन्दा पनि सचिवालयको कमजोरी हो । सचिवालयले राष्ट्रपतिलाई जनतासँग जोड्ने गरी कहिल्यै सोचेन, यो दुर्भाग्य हो’ टीका थाप्न गएका एक नेताले भने।
राजाहरुले जस्तै राष्ट्रपति र प्रधानमन्त्रीले दशैंलाई मात्रै महत्व दिएको, सर्वसाधारण भन्दै आशिर्वादका नाममा नागरिकको अपहेलना गरेको कतिपय नागरिक अगुवाको आरोप छ ।
दशैंमा मान्यजनहरुको हातबाट टीका ग्रहण गर्ने चलन भए पनि राष्ट्रपति र प्रधानमन्त्रीले उमेरमा आफूभन्दा पाका मानिसहरुलाई टीका लगाइदिएकोमा पनि आलोचना भएको छ ।