यो हो विश्वको सबैभन्दा लामो समुन्द्री पुल

worlds-longest-bridge
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वको सबैभन्दा लामो समुद्री पुलको उद्घाटन गरेका छन् । निर्माण सुरु भएको नौ वर्षपछि आधिकारिक रुपमा यो पुल खुला गरिएको हो । हङकङदेखि मकाउ र चीनको झुहाई सहरसम्म जोड्ने यो पुल मंगलबारदेखि खुला गरिएको हो ।

चीनले २० अर्ब डलर खर्च गरेर यो पुल निर्माण गरेको हो । यो पुल निर्माणको क्रममा केही ढिलाइ भएको थियो । पुल निर्माणको क्रममा विभिन्न सुरक्षाको मुद्दाहरु उठेको थियो, जसको कारण निर्माणमा ढिलाइ भएको थियो । निर्माणको क्रममा १८ जना कामदारहरुको ज्यान गएको थियो । बुधबारदेखि नियमित रुपमा यो पुलबाट सवारी आवतजावत हुने बताइएको छ ।

पुलको के विशेषता छ ?

चीनले बनाएको सो पुल भूकम्प, सुनामी तथा आँधीले कुनै क्षति गर्न नसक्ने गरी निर्माण गरिएको छ । यसलाई बनाउन चार लाख टन स्टिलको प्रयोग गरिएको थियो । यति स्टिलबाट इफेल टावरजस्ता ६० वटा टावर निर्माण गर्न सकिन्छ ।

यो पुलको ३० किलोमिटर जति समुद्रमा पर्छ । बीचमा ६.७ किलोमिटर सु्रुङमार्ग रहेको छ । बाँकी रहेको भागले जमिनको सुरुङदेखि झुहाई र हङकङ जोडिएको छ ।

पुल बनाउनुको कारण

चीनले आफ्नो सामुद्रिक क्षेत्र विस्तारको योजनामा आधारित रहेर यो योजना अघि सारिएको हो । यसले हङकङ, मकाउ र नौ अन्य सहरहरुलाई पनि जोड्नेछ । अहिले सो क्षेत्रमा छ करोड ८० लाख मानिसहरु बसोबास गर्ने गरेका छन् । यसअघि झुहाई र हङकङबीचको यात्राको लागि चार घण्टाको समय लाग्ने गरेको अब भने यो समय ३० मिनेटमा छोट्टिनेछ ।

सबैले पनि यो पुलमा सवारी चलाउन पाउँछन् ?

यो पुलमा सवारी चलाउनका लागि विशेष किसिमको अनुमति लिनु जरुरी हुन्छ । यो पुल सार्वजवनिक यातायातको लागि प्रयोग गरिने छैन । जसको कारण निजी सवारीहरुले यसबाट यात्रा गर्दा शुल्क बुझाउनुपर्ने हुन्छ । यसमा रेलमार्ग भने निर्माण गरिएको छैन ।

सुरुमा अधिकारीहरुले यो पुलबाट ९२०० सवारीहरु दैनिकरुपमा चल्ने अनुमान गरेका थिए । यद्यपि सो क्षेत्रमा बनेको नयाँ यातायातको सञ्जालसँगै उनीहरुले आफ्नो अनुमान घटाएका थिए ।

स्थानीयहरु के भन्छन् ?

यो योजनाको विषयमा निकै ठुलो विवाद देखिएको थियो । स्थानीयहरुले यसलाई “मृत्युको पुल”को संज्ञा दिँदै आएका छन् । यो निर्माणको क्रममा हङकङका नौ जना कामदारहरुको ज्यान गएको थियो । सयभन्दा बढी कामदारहरु यो संरचना निर्माणको क्रममा घाइते भएका थिए । त्यसका साथै यसको वातावरणीय प्रभावको विषयमा पनि विवादहरु रहेको छ ।

यो क्षेत्रको पानीमा बस्ने जन्तुहरुमा यसले नकारात्मक असर पार्नसक्ने वातावरणीय समुहहरुले बताउँदै आएका छन् । पछिल्लो १० वर्षमा हङकङको पानीमा रहेका डल्फिनको संख्या १४८ बाट घटेर ४७ मा आइपुगेको छ । अहिले सो पुलको वरपर कुनै पनि डल्फिन रहेका छैनन् ।

अर्थतन्त्रमा कस्तो सहयोग ?

यो पुलको प्रमुख भाग निर्माणको लागि मात्र छ अर्ब ९२ करोड डलर खर्च गरिएको थियो । समग्रमा यो पुल निर्माणको लागि २० अर्ब डलर खर्च भएको थियो । चिनियाँ अधिकारीहरुले यसबाट वार्षिक १४ अर्ब डलर राष्ट्रिय अर्थतन्त्रमा थप हुने अनुमान गरेका छन् ।

यद्यपि हङकङका नीति निर्माताहरुले भने यो संख्याको विषयमा आशंका व्यक्त गरेका छन् । यद्यपि विश्लेषकहरुले भने यो पुलबाट वार्षिक रुपमा आठ करोड ६० लाख डलर मात्र आम्दानी हुने बताएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्