काठमाडौं, ७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दैछ । एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि लगातार बसिरहेका बैठक निष्कर्षमा पुग्न नसकिरहेको बेला आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।
बैठकमा पार्टी एकताको विषयमा प्रमूख रुपमा छलफल हुनेछ । केन्द्रीय समिति र प्रदेशको नेतृत्व टुंगाएको नेकपाले प्रदेशका सदस्यहरु, जनवर्गीय संगठनको ढाँचा र नेतृत्व, जिल्ला कमिटी, विभागीय कमिटी र प्रवास कमिटीको टुंगो लगाउन बाँकी छ ।
७७ वटा जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लाग्न बाँकी छ । प्रदेश नेतृत्वले त्यसबारे छलफल गरे पनि अन्तिम निर्णयका लागि केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ । एउटा पदका लागि दर्जनौंको नाम सिफारिस भइआएकाले नेतृत्वलाई निर्णय लिन हम्मेहम्मे परेको छ ।
२२ वटा जनवर्गीय संगठनको एकताले झनै गति लिन सकेको छैन । युवा, विद्यार्थी, महिला लगायत सबैजसो जनवर्गीय संगठनमा पूर्व एमाले र पूर्व माओवादीका नेताहरुले नेतृत्व दावी गर्दा निर्णयमा ढिलाइ भएको छ ।
प्रवास कमिटी र जनसम्पर्क मञ्चहरुको एकताबारे भने आजको बैठकमा खास छलफल नहुने बताइएको छ । त्यस्तै विभागीय कमिटीहरुको एकता पनि आजको कार्यसूचिमा पर्ने छैन ।
प्रदेशको नेतृत्व छनोटमा मनोमानी गरेको भन्दै असन्तुष्ट रहेका माधव नेपाललाई अध्यक्षद्वय ओली र प्रचण्डले मिलेर जाने वचन दिएका छन् । त्यसकारण पनि आजको बैठकमा माधव समूहले सशक्त दावी प्रस्तुत गर्ने आंकलन गरिएको छ ।
आजको बैठकमा सरकारको कामको समीक्षा पनि कार्यसूचिमा रहेको बताइन्छ । दुईतिहाई बहुमतको सरकार भएर पनि खासै नतिजा नआएको भन्दै सरकारको चौतर्फी आलोचना सुरु भएको छ । तर, नेकपाका नेताहरु भने पार्टी एकतामा ढिलाइ हुँदा कार्यकर्तामा अन्यौलता छाएको र त्यसको फाइदा प्रतिपक्षीले उठाएको ठान्छन् ।
सरकारका मन्त्रीहरु हेरफेर गर्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । यद्यपि, यसबारे आजको बैठकले कुनै निर्णय भने लिने छैन ।