काठमाडौं, ८ कात्तिक । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले तत्कालिन एसपी डिल्लीराज विष्टलाई वर्खास्ती गर्ने तयारी गरेपछि विष्ट परिवारले निष्पक्ष छानबिनको माग गरेको छ ।
विष्ट पत्नी जानकी विष्टले सार्वजनिक रुपमा अपील जारी गर्दै भीडले भनेको कुरालाई आधार नमानी गहन र निष्पक्ष छानबिनको माग गरेकी छन् । ‘मेरो श्रीमान दोषी छन् या छैनन्, त्यसको निष्पक्ष छानबिन नभई, भीड र हल्लाकै भरमा उनलाई वर्खास्ती गरिन लागेको छ’, अपीलमार्फत उनले भनेकी छिन्, ‘श्रीमानले न त आफै गएर प्रमाण नष्ट गरे, न कसैलाई त्यसो गर्नका लागि दबाब नै दिए ।’ उनले श्रीमानलाई फसाउन प्रपञ्च गरिएको बताएकी छन् ।
‘राज्यले हल्लाकै भरमा वर्खास्त गर्ने मिल्छ की मिल्दैन’, उनले भनिन् । उनले मेरो श्रीमानले नियतवशः प्रमाण नष्ट गरेको हो भने कसरी कहिले र कसद्वारा गरे वा गर्न लगाए त्यो कुरा स्पष्ट खुलाउन माग गरेकी छन् । उनले आफ्नो श्रीमान् निर्दोष रहेको समेत दावी गरेकी छिन् ।
‘एसपी बिष्टको अग्रसरतामा वा आफ्नै हातबाट गल्ति भएको प्रमाणित भए म आफै पनि कारबाहीको माग गर्दै तपाईसँग सडकमा आउनेछु’, उनले अपीलमा भनेकी छिन्, ‘मलाई बलात्कारीको श्रीमती र बलात्कारीकी आमा भनेर मानसिक पीडा दिइँदैछ । मलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार खोइ ।’
‘अपराधी कसैको आफन्त हुँदैन । तर, बिना गल्ती मेरो परिवारको चरित्र हत्या र मानसिक यातना खेप्नु परेको छ’ उनको दुखेसो छ । उनले केही पत्रकारको गलत समाचार प्रसारणको कारणले परिवारलाई चरम यातना दिने काम गरेको भन्दै आक्रोश पोखेकी छन् । ‘हामीलाई जिउँदै मार्ने प्रयास भइरहेको छ’ जानकीले अपीलमा भनेकी छन्, ‘के मलाई बाँच्ने अधिकार छैन ? किन बिनागल्ती हामीलाई मानसिक यातना दिइँदैछ ।’
राष्ट्रिय मानव अधिकार आयोग, उच्च स्तरीय छानबिन समिति, प्रहरी प्रधान कार्यालयको छानबिन समितिप्रति समेत उनले असन्तुष्टि जनाएकी छन् । छानबिनका लागि आएका कसैले पनि आफ्नो परिवारमाथि परेको समस्याबारे सोधपुछ नगरिदिएको उनको गुनासो छ ।
‘दुवैजना बुबा र छोराको डीएनए परीक्षण समेत गरियो, तर पनि अनुसन्धानमा सहयोग हुन्छ भनेर सजिलैसँग हामीले अनुसन्धान गर्न दियौँ’, उनले अपीलमा भनेकी छन्, ‘तर हामीमाथि निरन्तर यातना दिइयो ।
छोरालाई बलात्कारी बनाएर उसलाई चरम यातना दिइएको र त्यही कारणले उसको बाँच्न पाउने अधिकार कुण्ठित भएको उनको आरोप छ । उनले आफ्नो छोराको शारीरिक, मानसिक, सामाजिक र व्यवसायिक रुपमा गम्भीर असर परेको बताएकी छिन् ।