काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरु चयन गर्न र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ ।
बिहीबार बसेको बैठकले सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल रहेको उक्त कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ ।
नेकपाले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ । त्यस्तै बिहीबारको सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने जिम्मा पनि उक्त कार्यदललाई नै दिएको महासचिव पौडेलले बताए ।
बैठकले मोर्चा र जनवर्गीय संगठनको एकताको टुंगो लगाउने भनिए पनि त्यसबारे कुनै निर्णय भएको छैन । ४४१ सदस्यीय केन्द्रीय समितिका सदस्यहरुको जिम्मेवारी टुंगाउन र प्रदेशका सदस्यहरुको टुंगो लगाउन मात्र कार्यदल गठन गरिएको हो ।