बलात्कारीको संरक्षणमा सरकार नलागोस् : सभापति देउवा

Sher Bahadur Deuba
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, १० कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा शनिबार पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताएका हुन् ।

“हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महिनौँसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारवाही होस्”, उनले भने ।

दलका अध्यक्ष जीतजङ्ग बस्नेतले लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, स्थिरता र विकासका लागि सङ्गठन लागिपर्ने बताए । २००७ सालमा प्रजातन्त्रको स्थापनापछि सुदृढीकरणका लागि युवा समूह सङ्गठित गर्ने क्रममा वि.सं. २०१० कात्तिक १० गते तरुण दलको स्थापना भएको हो ।

काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले दल स्थापना गरेका थिए । तत्कालीन प्रधानमन्त्री कोइराला वि.सं. २०१७ पुस १ गते तरुण दलकै कार्यक्रममा व्यस्त रहेका बखत तत्कालीन राजा महेन्द्रबाट सेनाको शक्तिका भरमा ‘कू’ गरी कोइरालालाई पक्राउ गरी पञ्चायती शासन व्यवस्थाको सूत्रपात भएको थियो ।