चितवन, १० कात्तिक । २४ औं राष्ट्रिय कण्डम दिवस चितवनमा पनि शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दोहोरो सुरक्षाका लागि कण्डमको प्रयोग गरौं’ भन्ने नारासहित यस वर्ष कण्डम दिवस मनाइएको हो ।
दिवसको अवसरमा शनिबार भरतपुरको चौबिसकोठीमा निशुल्क कण्डम वितरण, एड्स परिक्षण एवम् कण्डमको प्रयोग गर्ने तरिका र फाइदाको विषयमा सरोकारवालाहरुले मन्तव्य राखेका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिका, एएचएफ नेपाल, सुनौलो भविष्य नेपाल, चितवन सक्रिय महिला प्रतिष्ठानलगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।
कण्डम परिवार नियोजनको साधन मात्रै नभएर यसको प्रयोगबाट यौनजन्य रोगहरुबाट समेत बच्न सकिने भरतपुर महानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख जीवनकुमार श्रेष्ठले बताए । कण्डमलाई दोहोरो सुरक्षाको विधिका रुपमा लिइने भन्दै उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुबाट निःशूल्क कण्डम वितरण भइरहेको बताए ।
त्यस्तै सार्वजनिक स्थलहरुमा पनि बक्स बनाएर कण्डम राखिने गरिएको प्रमुख श्रेष्ठले बताए । प्रयोगकर्ताले आवश्यक पर्ने जति निःशुल्क लैजान सक्ने उनको भनाइ छ । भरतपुर महानगरको हकमा जिल्ला समन्वय समितिको कार्यालय, भरतपुर महानगरपालिकाको कार्यालय, बसपार्क र बस स्टपहरुमा बक्स बनाएर कण्डमहरु राखिँदै आएको उनले जानकारी दिए ।
शहरी क्षेत्रमा कण्डमका प्रयोगकर्ताहरु पछिल्लो समय कण्डमको पहुँचमा आउन थालेको भए पनि ग्रामिण भेगमा अझै पनि खुलस्त भएर माग्न वा प्रयोग गर्न हिच्किचाउने गरेको उनले बताए । बजारमा सशुल्क विभिन्न ब्राण्डका करिब ३५ प्रकारका कण्डमहरु पाउन सकिने भन्दै उनले चितवनमा पछिल्लो समय महिलाहरुले प्रयोग गर्न मिल्ने कण्डमसमेत पाउन सकिने बताए ।
कण्डमको प्रयोगबाट लिन सकिने दोहोरो फाइदाको बारेमा प्रयोगकर्ताहरु जानकार हुनुपर्ने भरतपुर महानगर जनस्वास्थ्य शाखाकी परिवार नियोजन अधिकृत सीता दाहाल बताउँछिन् । उत्तरी ग्रामीण भेगमा अझै पनि कण्डमको बारेमा जनचेतना नपुगेको उनले बताइन् ।
सरकारले पुरुषले प्रयोग गर्ने कण्डम निःशुल्क व्यवस्था गरेको भए पनि महिलाले प्रयोग गर्ने कण्डम निःशुल्क व्यवस्था गर्न सकेको छैन ।