पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा बन्छ : रवीन्द्र अधिकारी

Rabindra-Adhikari
लाेकपाटी न्यूज
0 Shares

पोखरा, १० कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा खेलकूदको माध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण भूमिका पुगेको बताएका छन् ।

पोखरा महानगरपालिका–२० भलाममा श्रृखला युवा क्लबद्वारा आज आयोजित पाँचौ खुल्ला सेभेन एसाइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूद क्षेत्रको समग्र विकासका लागि तीन वटै सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिले जनताको मन छुने गरी विकास निर्माणका कार्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सङ्घीय र प्रदेश सरकारको आवश्यक सहयोग रहने विश्वास व्यक्त गरे । उनले आफू गण्डकी प्रदेशको विकासमा सधैं साथमा रहने समेत बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न भई सञ्चालनमा आउने बताउँदै मन्त्री अधिकारीले त्यसले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पोखराको अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा बन्छ । यस गण्डकी प्रदेशको पर्यटनमा महत्वपूर्ण योगदान गर्नेछ ।’

गण्डकी प्रदेशसभा सदस्य विन्दु थापाले खेलकूदको विकासका लागि प्रदेश र स्थानीय सरकारको समन्वय अपरिहार्य रहेको उल्लेख गरे । श्रृङ्खला खेल मैदान भलाममा शनिबार भएको उद्घाटन खेलमा श्रृखला (बी) ले त्रिशक्ति क्लबलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको क्लबका सचिव रमेश खत्रीले जानकारी दिए ।

प्रतियोगितामा विजयी टोलीले रु. एक लाख एक हजार र उपविजेयताले रु. ५५ हजार ५५५ नगदसहित पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । कात्तिक १७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा पोखरा र आसपासका विभिन्न ४१ वटा टोलीको सहभागिता रहेको छ ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा ३३ द्वारा भरतपोखरीमा शनिबार आयोजित विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री अधिकारीले सरकार जनअपेक्षा अनुरुपका कामका लागि परेको जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्