‘विकास र समृद्धिका साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित्त’

Sherdhan Rai
लाेकपाटी न्यूज
0 Shares

विराटनगर, ११ कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिका साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित भएर लागिरहेको बताएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आइतबार विराटनगरमा आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रमको शुभारम्भ गर्दै उनले आफ्ना नीति तथा कार्यक्रमको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने बाटोमा प्रदेश सरकार अग्रसर भएको बताए ।

सुशासन र शान्ति कायम गरेर विकास र समृद्धि ल्याउन उनले जोड दिए । मुख्यमन्त्री राईले भ्रष्टाचारमुक्त र सुशासनयुक्त प्रदेश सरकारको चाहनालाई पूरा गर्न जनताको जिम्मेवारीसमेत रहेको भन्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमको पूर्णरुपमा कार्यान्वय हुने विश्वास दिलाए ।

‘अपराध र हिंसा रोक्न समुदाय र प्रहरी साझेदारी कार्यक्रमले बल पुर्‍याउँछ,’ उनले भने, ‘प्रदेश सरकार गम्भीर एवं संवेदनशील छ ।’