नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

Barshaman Pun
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ कात्तिक । सर्विया भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सर्वियाका उद्योगी तथा व्यवसायीलाई उत्प्रेरित गरिदिन आग्रह गरेका छन् ।

मन्त्री पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच शनिबार भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गरेका हुन् । युरो–एसिया इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन सर्विया पुगेका ऊर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुवै देशका बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमासमेत कुराकानी भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले केही समय पहिले उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रति नेपाल सरकार, परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवादसमेत व्यक्त गरेका थिए । भेटमा मन्त्री पुनले नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै आगामी दिनमा समेत विश्व मञ्चमा प्रस्तुत हुँदा साझा धारणा बनाएर जाने प्रस्तावसमेत राखेका थिए । उनले दुवै देशको सम्बन्ध मजबुत बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानमा जोड दिनुपर्ने बताए ।

मन्त्री पुनले भेटमा भने, ‘हामी पुराना सहयात्री मुलुक पनि हौँ, नेपाल र सर्वियाको द्वन्द्व र शान्तिको उस्तै–उस्तै अनुभव छ, आगामी दिनमा विश्वमञ्चमासमेत साझा धारणा बनाएर अघि बढौं ।’ नेपाल लामो समय द्वन्द्वमा गुज्रेको भन्दै मन्त्री पुनले अहिले देश स्थायित्वको युगमा प्रवेश गरिसकेको र मुलुकमा मजबुत सरकार बनेकाले लगानीको उचित वातावरण बनेको जानकारी सर्वियाली उपप्रधानमन्त्रीलाई गराएका थिए ।

मन्त्री पुनले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानीको लागि सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन समेत आग्रह गरे । उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफूले पहल गरिरहेको धारणा राखे । सरकारले नेपालमा बाह्य पर्यटकलाई भित्र्याउन नेपाल भ्रमण वर्षको कार्यक्रम अघि सारेको भन्दै त्यसमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाइदिन पनि उनले उपप्रधानमन्त्रीसँग आग्रह गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्