पोखरा, ११ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको छ । बुटवलको यो लगातार दोस्रो जित हो । यससँगै बुटवल अंक तालिकाको शीर्षस्थानमा रहन सफल भएको छ ।
पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवलले पोखरालाई १ सय ५१ रनको लक्ष्य लक्ष्य प्रस्तुत गरेको थियो । मध्यम लक्ष्य पछ्याउने क्रममा पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १७ रन मात्र बनाउन सक्यो ।
ब्याटिङतर्फ पोखराका लागि आशिफ शेखले २० रन तथा रभि इन्दर सिंहले ११ रनको योगदान दिए । त्यस्तै शरद भेषावकरले १९ रन बनाउँदा रसिद खानले १० रन जोडे ।
बलिङतर्फ बुटवलका लागि रोहन मुस्तफा, सोमपाल कामी, ललित भण्डारी र विपिन खत्रीले समान दुईदुई विकेट लिए । त्यस्तै सागर पुनले एक विकेट हात पारे ।
टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रन बनाएको थियो ।