किन भयो नेकपाको स्थायी बैठक स्थगित ?

CPN_Party_office
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, कार्तिक ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ ।

नेताहरुको कार्य व्यस्तता र एजेण्डासमेत तय हुन नसक्दा भोलि र पर्सीका लागि डाकिएको स्थायी कमिटी बैठक स्थगित भएको सचिवायलले जनाएको छ । स्थायी कमिटी सदस्य बेदुराम भुसालले नेताहरुको कार्यव्यस्तता र तयारी नपुगेकाले बैठक स्थगित भएको जानकारी दिए ।

गत बिहीबार बसेको सचिवालय बैठकले प्रदेश कमिटीको एकता टुङ्गो लगाउन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा सम्मिलित कार्यदल गठन गरेको थियो ।

कार्यदललाई तल्लो तहबाट आएका नामलाई टुङ्गो लगाई सचिवालय बैठकमा पेश गर्ने जिम्मेवारी दिइएको थियो । सचिवालयले कार्य दलले पेश गरेका नामलाई अन्तिम रुप दिएर स्थायी कमिटी बैठकमा पेस गर्ने भनिएको थियो ।

तर, कार्यदलले तल्लो तहबाट आएका नाम टुङ्गो लगाउन नसक्दा स्थायी कमिटी बैठक एजेण्डाबिहिन हुने भएपछि बैठक अनिश्चित कालका लागि स्थगित भएको हो ।

गत बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बस्ने र कार्यदलले पेश गरेका प्रदेश कमिटीका सदस्यको नाम र केन्द्रीय सदस्यहरुको कार्य विभाजनलाई अन्तिम रुप दिने निर्णय गरेको थियो ।

यसअघि नेकपा स्थायी कमिटीको बैठक असार २१ गते बसेको थियो ।