नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
स्वास्थ्य बिग्रिएपछि प्रधानमन्त्री ओली सोमबार बिहान ४ बजे अस्पताल भर्ना भएका छन्। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।
साथै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा कार्यकर्ताहरू पनि अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्।
श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको छ।
डा.अरुण सायमी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले ओलीको उपचार गरिरहेका छन्।
अझै केही दिन अस्पतालमै राखेर प्रधानमन्त्री ओलीको उपचार गर्नुपर्ने डाक्टरहरुले बताएका छन्।
‛केही दिनयता उहाँलार्इ खोकीले च्यापिरहेको छ। खोकी नियन्त्रण नभएपछि थप चेकअपको लागि अस्पताल लगिएको हो,′प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले नेपालखबरसँग भने, ‛साेमबार बिहान ४ बजेतिर अस्पताल लगिएको हो।’
प्रधानमन्त्री ओली तीन दिनदेखि अस्वस्थ छन्। नेकपा अध्यक्ष समेत रहेका उनी पार्टीले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी हुन सकेका थिएनन्। चिकित्सकले धुलो एवं भिडभाडमा नजान भनेका छन्।
उनकै अस्वस्थताका कारण शुक्रबार बस्ने भनिएकाे मन्त्रिपरिषद बैठक आइतबार सारिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली १० मिनेटमात्रै उपस्थित भएका थिए।