चिया विकासमा चिनियाँ प्रविधि र सहयोग आवश्यक : मन्त्री खनाल

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ कात्तिक । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले नेपालले छिमेकी मुलुक चीनको विकासको गतिलाई समात्न प्रयत्न गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेपाल र चीनको सिचुवान प्रान्तको चिया संस्कृतिको बारेमा सोमबार राजधानीमा आयोजित छलफल कार्यक्रममा उनले दुवै देशबीचको सम्बन्ध अनुपम र प्रगाढ रहेर पनि नेपालले चीनको विकासबाट लाभ लिन अझै नसकिरहेको धारणा व्यक्त गरे । मन्त्री खनालले भने, ‘नेपालको चियाबारे चीनलाई भनिरहनुपर्दैन, कसरी प्रशोधन गर्ने, उत्पादन गर्ने र बजारीकरण गर्ने भन्ने पाटोमा जति चीनलाई थाहा छ, अरु बाँकी विश्वलाई त्यति थाहा नहुनसक्छ, त्यसैले नेपालको चिया प्रवद्र्धनमा चीनको सहयोग आवश्यक हुन सक्दछ ।’

नेपालबाट वार्षिकरुपमा रु. तीन अर्ब बराबरको चिया निकासी हुने गरेको बताउँदै उनले विदेश निर्यात गर्ने कृषिजन्य वस्तुमा चिया पनि निकै सम्भावना बोकेको क्षेत्र हो भने ।

राष्ट्रिय चिया तथा तथा कफी विकास बोर्डका कार्यकारी अध्यक्ष शेषकान्त गौतमले चीनले पछिल्लो ३० वर्षमा पूर्वाधार निर्माण र कृषिको आधुनिकीकरणमा गरेको अद्भूत विकासको वर्णन गर्न निकै कठिन रहेको धारणा राखे । उनले भने, ‘नेपालमा चिया खेतीको आधुनिकीकरण, उत्पादन, प्रशोधन र बजारीकरण गर्न चिनियाँ सहयोग र प्रविधिको अपेक्षा गरिएको छ ।’ चीनको सिचुवान प्रान्त यिविन सरकारका उपमहासचिव लिया, यिपिन नगरपालिकाका उपमेयर चाङ फिङ, त्यहाँको जनसरकारका उपमहासचिव लि याज्यूलगायतले नेपाल र चीनबीच चिया उद्योग प्रवद्र्धन तथा चिया संस्कृतिको विकासका लागि यस्ता छलफल कार्यक्रमले नयाँ आयामको ढोका खोल्ने विश्वास उनले व्यक्त गरे ।

आयोजक संस्था साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष धु्रव पौडेलले दुबै देशका चिया विज्ञबाट चिया संस्कृतिको बारेमा खुल्ला छलफल होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सो अवसरमा नेपाल चिया तथा कफी विकास बोर्ड र सिचुवानको यिपिन चिया कम्पनीबीच नेपालमा उत्पादन भएको हरियो चियालाई गुणस्तरयुक्त बनाउन तालीम, सीप र प्रविधि उपलब्ध गराउने तथा चिया संस्कृतिको आदानप्रदान गर्नेलगायत सहयोग आदानप्रदान गर्ने विषयमा सहमति पत्रमा हस्ताक्षर भयो । सिचुवान क्षेत्रमा उत्पादित चिया तथा कफी प्रदर्शनीमा राखिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्