प्रहरीलाई ठूलो सफलता : कोको थिए ‘सार्प सुटर’को निशानामा ?

ssp-dhiraj-singh
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १३ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका ‘सार्पसुटर’सहित तीन अभियुक्त एक वर्षपछि पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले दार्जिलिङबाट पक्राउ गरेका उनीहरूलाई सोमबार काठमाडौं ल्याई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर रौता–५ का ३१ वर्षीय अम्बरबहादुर राना मगर, झापा बिर्तामोड–५ शनिअर्जुनका ४० वर्षीय लोप्साङ भनिने सोम तामाङ, नागार्जुन–४ काठमाडौंका २६ वर्षीय रोशन बुढाथोकी छन् । प्रहरीका अनुसार उनीहरू झापा आसपासका क्षेत्रमा लुकेर बसेको सूचना प्राप्त भयो ।

अहिले पनि उनीहरू ‘हाइ प्रोफाइल मर्डर’को योजना बनाइरहेका थिए । त्यो सूचना हामीलाई प्राप्त भयो । खोजी गर्दै जाने क्रममा उनीहरू पक्राउ परे,’ महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले भने । उनीहरूलाई काँकडभिट्टा हुँदै काठमाडौं ल्याइएको सिंहले बताए ।

गौचनलाई गोली हान्ने अम्बरबहादुर ‘सार्प सुटर’ हुन् । प्रहरीका अनुसार रोशनले हाँकेको मोटरसाइकल पछाडि बसेर अम्बरबहादुरले गौचनमाथि गोली प्रहार गरेका थिए । उनी नेपाली सेनाका भगौडा हवल्दार हुन् । उनी इलामस्थित कालीध्वज गणमा कार्यरत थिए । गौचनको २३ असोज ०७४ मा बानेश्वरस्थित प्रयाग मार्गमा हत्या भएको थियो ।

शरद गौचन हत्या गर्ने ‘सार्प सुटर’ अम्बरबहादुर राना मगरले डन दावा लामा र दिनेश अधिकारी ‘चरी’माथि पनि गोली हानेको प्रहरीले जनाएको छ । २९ चैत ०७३ मा बौद्ध नयाँबस्तीस्थित पार्टी प्यालेसमा जिम गर्न जाने क्रममा दावामाथि गोली प्रहार भएको थियो । यस्तै, चरीमाथि कपुरधारामामा गोली हानिएको थियो । यद्यपि, दावा र चरी उक्त घटनामा जोगिएका थिए ।

४ पुस ०७३ मा रुपन्देहीको देवदह नपास्थित खैरहनीका ४० वर्षीय दुर्गा तिवारीको हत्या पनि अम्बरकै समूहले गरेको हो । तिवारी तत्कालीन एमालेनिकट युवा संघका जिल्ला अध्यक्ष थिए । बुटवलकै अर्का व्यवसायी बलु भनिने वसन्त पौडेलको पनि १२ पुस ०७४ मा यही समूहले गोली हानी हत्या गरेको प्रहरी बताउँछ ।

गौचन हत्याका मुख्य योजनाकार काठमाडौं–१३ बाफलका ३४ वर्षीय समिरमानसिंह बस्नेत रहे पनि उनलाई बुटवल देवदहका चर्चित डन मनोज पुनले सहयोग गरेका थिए । मनोज बुटवलमा ठूलै अपराधी गिरोह चलाउँथे । मनोजसँग समिरमान मिसिएपछि दुईबीचको गिरोह अझ सशक्त बन्यो ।

जसका सदस्य थिए, वसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, गंगाप्रकाश लिम्बू भनिने गंगा लिंदेन (बोका), श्याम गोम्बे गुरुङ, अमरबहादुर थापा मगर, रोशन बुढाथोकी, अजय थापा भनिने अजय तामाङ, र लोप्साङ लामा थिए ।

जसमध्ये अब गंगाप्रकाश लिम्बू भनिने गंगा लिंदेन (बोका) र अजय थापा भनिने अजय तामाङ मात्रै फरार छन् । मनोज र सोम आले प्रहरी इन्काउन्टरमा मारिइसकेका छन् । समिरमान सिंहसहितका बाँकी सदस्य भने जेल जीवन बिताइरहेका छन् ।

प्रहरीका अनुसार गिरोहका मुख्य नाइके मनोज पुन मारिएपछि सदस्यहरू तितरबितर भएका थिए । धम्क्याउँदै विगतमा संकलन गरिएको रकम पनि रित्तिसकेको थियो । उनीहरूलाई दैनिक रोजीरोटीमा समेत समस्या परिसकेको थियो । उनीहरू आफ्नो गिरोहलाई पुनः सक्रिय बनाउन चाहन्थे । अब उनीहरू काठमाडौंमा हाइप्रोफाइल हत्या गर्ने योजनामा थिए ।

महाशाखा प्रमुख एसएसपी सिंहले पत्रकार सम्मेलनमै यो गिरोहले केही महिनामै हाइप्रोफाइल हत्या गर्ने योजना बनाएको तथ्य भेटिएको बताए । ‘यिनीहरू काठमाडौंमा हाइप्रोफाइल हत्या गर्ने योजनामा थिए । कसको हत्या गर्ने योजना थियो भन्ने म नाम लिन्नँ । हाइप्रोफाइल हत्या अब टरेको छ,’ एसएसपी सिंहले भने ।

गिरोहका नाइकेमध्येका एक हुन्, समिरमानसिंह बस्नेत । गौचन हत्याका मुख्य योजनाकार उनी अहिले कैद सजाय भोगिरहेका छन् । तर, उनको अपराध कर्म भने अझै रोकिएको छैन । प्रहरीका अनुसार श्रीमती माया शेरचनमार्फत बस्नेत आफ्नो पुरानो धन्दालाई निरन्तरता दिइरहेका छन् । पक्राउ परेका लोप्साङ, रोशन र अम्बरबहादुर मायासँग नियमित सम्पर्कमा थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्