जापानी राजकुमारी २८ वर्षीया आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारी पद त्याग गरिदिएकी छन् । गत गृष्ममै उक्त घोषणा गरेकी आयाकोले सोमबार ३२ वर्षीय केई मोरियासँग लगन गाँठो कसिन् । मोरिया राज खानदानका होइनन् उनी जहाज कम्पनीमा काम गर्छन् । सोमबार एक मन्दिरमा परम्परागत चलनअनुसार उनीहरूको विवाह भएको छ ।
राजकुमारीका आयाकोको जिजुबुवा सम्राट मेइजीको नाममा बनाइएको मन्दिरमा भएको विवाह समारोहमा राजकुमारी परम्परागत पोशाक किमोनो लगाएर आएकी थिइन् दुलाहा मोरियाले कालो कोट र खैरो पाइन्ट लगाएका थिए । ‘म उनीसँग विवाह गर्न पाउँदा र धेरै जना यहाँ आएर हामीलाई बधाई दिँदा हर्षविभोर छु,’ विवाह समारोहपछि राजकुमारीले भनिन् ।
तीन पुस्तादेखि जापानी राजपरिवारले आफूले चाहेकासँग विवाह गर्न स्वतन्त्रता दिँदै आएको छ । सम्राट अकिहितोले पहिलो पटक आमकेटीसँग विवाह गरेका थिए। पछि उनी साम्राज्ञी मिचिको बनिन्। अकिहितो र मिचिकोको भेट अदालतमा भएको थियो ।
यसअघि गत वर्ष पनि राजकुमारी माकोले पनि प्रेमीसँग विवाह गर्ने भन्दै पदवी त्याग गरेकी थिइन् । जापानी राजपरिवारकी छोरी मान्छेले आममान्छेसँग विवाह गर्दा राजपरिवारको पद त्याग्नुपर्छ । जापानको उत्तराधिकार कानुनअनुसार आयाकोले राजकुमारी पद त्यागेकी हुन् । विवाहसम्बन्धी कागजातमा हस्ताक्षर गरेपछि उनले श्रीमानको थर पाउनेछन् ।
जापानको राजपरिवारमा पुरूषको कमी छ । युवराज नारूहितो, जो अर्को वर्ष अकिहितोले सिंहासन छोडेपछि सम्राट बन्दैछन्, उनका भाइ फुमिहितो, उनका भतिजाहरू हिसाहितो र मासाहितो र सम्राटका ८० वर्षीय भाइमात्र सिंहासनका उत्तराधिकारी छन् । आम केटासँग विवाह गरेकी आयाकोले राजपरिवारबाट खर्चबापत् ९ लाख ५० हजार अमेरिकी डलर पाउने छिन् । एजेन्सी