काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले लिएको बाटोबाट नेपालमा समृद्धि हासिल नहुने दाबी गरेका छन्।
उनले नेकपा नेतृत्वको सरकारबाट समृद्धि र समाजवाद सम्भव नभएको बताएका हुन्। बुधबारबाट काठमाडौंमा शुरु भएको नयाँ शक्तिको १५ औँ संघीय बैठक अघि पत्रकारहरूसँग कुरा गर्दै डा. भट्टराईले नेकपा नेतृत्वको दुई तिहाइको सरकारबाट जनताले आफ्नो जीवनमा फरक आउने अपेक्षा गरेपनि त्यस्तो हुन नसकेको बताए।
उनले भने, ‘दुई तिहाइको सरकारबाट जनाताले एक किसिमको अपेक्षा गरेको थियो। तर जनताको जीवनमा सकरात्मक प्रभाव पार्ने काम गर्न सकेन।’ डा. भट्टराईले भने, ‘उहाँहरूले लिएको राज्यकेन्द्रित समाजवादको बाटोले जनताको समृद्धि हुँदैन भन्ने पुष्टी भयो। अब नयाँ वैकल्पिक शक्ति चाहिन्छ। प्रतिपक्षी कांग्रेसले पनि सकरात्मक भूमिका खेल्न सकेन। कम्युनिस्ट सरकार असफल भएपछि सरकार आफ्नो पक्षमा आउला भन्ने आशा गरेर बस्नेबाहेक अरू भएन।’
डा. भट्टराईले स्थानीय तह अगाडि पार्टीहरूले सिंहदरबारका अधिकार गाउँगाउँमा पुर्याउने भनेर नारा दिएपनि अहिले भने भ्रष्टाचार गाउँ-गाउँमा पुर्याएको आरोप लगाए। उनले प्रधानमन्त्री ओलीका कारण संघीयता कार्यान्वयनमा पनि समस्या आएको बताए। संघीय सरकारले आवश्यक कानून बनाएर अगाडि बढ्नुपर्नेमा प्रदेश समन्वय समिति बैठकसमेत नबोलाएर प्रधानमन्त्रीले संघीयता कार्यान्वयनप्रति उदासीनता देखाएको आरोप लगाए। बैठकमा नेकपा सरकारको मूल्यांकन गर्ने र आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुने डा. भट्टराईको भनाइ थियो।
बैठकको उद्घाटन मन्तव्यमा डा. भट्टराईले अब पुराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दाबी गरे। संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनीसमेत दिएका छन्।
बैठकमा संयोजक भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमा सरकार जनताको अपेक्षाअनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ। लोकतन्त्रका मूल्य-मान्यता विपरीतका गतिविधिमा सरकार संलग्न रहेको दाबी गर्दै नयाँ शक्ति पार्टी, नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ।
दुई दिनसम्म चल्ने बैठकले पार्टीको भावी नीति तय गर्ने नयाँ शक्ति पार्टी, नेपालले जनाएको छ।