राष्ट्रपति भण्डारी कतार फाउण्डेसनको कार्यक्रममा सहभागी

bidhyadevi bhandari
लाेकपाटी न्यूज
0 Shares

कतार, १४, कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन बुधबार दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी छन् ।

राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गरेका थिए ।

उक्त फाउण्डेसन अन्तर्गत विभिन्न विश्वविद्यालय तथा शिक्षालयहरू सञ्चालित छन् जहाँ ९० भन्दा बढी देशका विद्यार्थीहरू विभिन्न संकायमा अध्ययनरत छन् ।

यसै बीच यस फाउण्डेसनकी अध्यक्ष शेख मोजा बिन्द नसिरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । सो अवसरमा उनीहरू बीच विज्ञान, प्रविधि, खाद्यसुरक्षा लगायातका क्षेत्रमा दुई देशबीच अनुसन्धान र सहकार्य गर्ने विषयमा छलफल भएको वार्तामा सहभागी भएका परराष्ट्र मन्त्रालयका अधिकृत श्रीकृष्ण सिलवालले जानकारी दिए । यसैगरी महिला सशक्तीकरण र बालशिक्षाका क्षेत्रमा समेत दुई देशबीच सहकार्य गरेर अगाडि बढ्न सकिने विषयमा समेत छलफल केन्द्रित रहेको अधिकृत सिलवालले बताए ।

राष्ट्रपति भण्डारीले त्यस फाउण्डेसनको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी छन् । फाउण्डेसनकी अध्यक्ष नसिरले राष्ट्रपति भण्डारीलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।

सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य सहभागी भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्