कतारमा नेपालीलाई राष्ट्रपति भण्डारीको सम्बोधन : ‘ढुक्क भएर नेपालमै लगानी गर्नुस्’

bidhyadevi bhandari
फाइल तस्बिर
लाेकपाटी न्यूज
0 Shares

कतार, १५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारस्थित नेपालीहरूको साझा मञ्चलाई सम्बोधन गरेकी छन् ।

कतारको औपचारिक भ्रमणको सिलसिलामा गैरआवासीय नेपाली कतार शाखा, कतार–नेपाल मैत्री सङ्घ लगायत संस्थाका प्रतिनिधि र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रपति भण्डारीले अब नेपालीले तन, मन र धन खर्चेर नेपाल बनाउने समय आएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेकी हुन् ।

नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेकाले अब सरकार विकास र निर्माणका लागि लगानीमैत्री कानून र वातावरण बनाएर अगाडि बढेको छ त्यसैले सम्पूर्ण नेपालीलाई विकास र समृद्धिको यात्रामा हातेमालो गर्न आग्रह गरेकी छन् ।

कतारका अमिरसँगको वार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका क्षेत्रमा घनिभूत छलफल भएको र नेपाली श्रमिकका समस्या लागायत थुप्रै विषयमा चर्चा गरिएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल–कतार सम्बन्ध थप प्रगाढ हुने र कतारी लगानी नेपाल भित्रिने विश्वास व्यक्त गरिन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कतार नेपालको विश्वासिलो मित्र रहेको र श्रम सम्बन्धले यसलाई थप प्रगाढ बनाएको बताए । दुई देशबीच अहिले भएका बिभिन्न सहमति र समझदारीले यस सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने छ । मन्त्री ज्ञवालीले यहाँका नेपाली उद्योगी, व्यवसायीलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

नेपाल सरकार कानूनी लगायत अन्य सबै विषयमा सहजीकरण गर्न तयार रहेको जनाउँदै उनले अबको नेपाल–कतार श्रमिक सम्बन्धको ढाँचा समेत परिवर्तन गारेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाल सधै श्रमिक निर्यात गरेर विप्रेषण भित्राएर मात्र विकसित हुन नसक्ने उनले बताए ।

ज्ञवालीले अदक्ष श्रमिकलाई श्रम सीप सिकाएर सकभर स्वदेशमै रोजगारका अवसर सिर्जना गर्ने दिशामा सरकार अगाडि बढेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले अब नेपालको समृद्धिको यात्रामा निराशा हैन बलियो आत्मविश्वासका साथ अगाडि बढ्न सबैलाई आग्रह गरे ।

त्यसैगरी गैर आवासीय नेपाली, कतार शाखाका अध्यक्ष नवीन पोखरेलले आफूहरू नेपालमा लगानी गर्न तयार रहेको र सरकारले त्यस क्षेत्रमा आवश्यक वातावरण बनाइदिन अनुरोध गरेका छन् ।

उक्त कार्यक्रमा कतारस्थित नेपालीहरूको उल्लेख्य सहभागिता थियो । कार्यक्रम कतारस्थित नेपाली दूतावासले आयोजना गरेको हो ।