ओखलढुङ्गा, १५ कात्तिक । नेपाली कांग्रेसका युवा नेता तथा गत निर्वाचनमा प्रतिनिधिसभामा पराजित उम्मेदवार रामहरि खतिवडा ओखलढुंगा गाउँ–गाउँमा अभियान लिएर गएका छन् । चुनावमा हार जीत भए पनि जनताको बीचमा रहिरहने भन्दै खतिवडा गाउँ अभियानमा जुटेका हुन् ।
खतिवडा हिजो मात्रै जिल्लाकै दुर्गम मानिने सुनकोशी गाउँपालिकाको कटुन्जे ककनी पुगे । सो स्थानमा आयोजित सभामा खतिवडाले ओली सरकारले लिएको समृद्धिको नारा पूरा गर्न सवै नेपाली एकजुट हुनुपर्ने धारणा राखेर सबैलाई चकित पारे ।
‘अब पनि नेपाल असफल हुने, विकास नहुने काम हुनुहुन्न, ओली सरकारले लिएको समृद्धिको नारा पूरा गर्न सवै एकजुट हुनुपर्छ, राजनीति अरु विषयमा गरौं, विकास र समृद्धिको काममा सरकारलाई साथ दिऔं’ खतिवडाले भने । उनले चुनावमा गर्ने भाषण र प्रतिस्पर्धाका आधारमा विकासको काममा अवरोध कसैले गर्न नहुने धारणा राखे ।
खतिवडाले सरकारले राम्रो काम गर्दा सबै नेपालीलाई समृद्धि आउने भएकाले आफूले सत्तापक्ष वा प्रतिपक्ष नभनी सवै नागरिकले सरकारको समृद्धि योजनामा साथ दिनुपर्ने आवश्यकताबारे बुझाउने गाउँ–गाउँ आएको बताए ।
‘विकासमा राजनीति होइन, अब सहकार्य र सहयोग जरुरी छ भन्ने सन्देश दिन नै गाउँ–गाउँ पुगेको हुँ,’ खतिवडाले भने ।