अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो महाधिवेशन मंसिरमा हुने

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ कात्तिक । अन्तर्राष्ट्रिय तामाङ परिषद्ले आगामी मंसिर २८ गतेदेखि पुस १ गतेसम्म चौथो महाधिवेशन भारतको दार्जिलिङ मिरिकमा आयोजना गर्ने भएको छ ।

बिहीबार परिषद्ले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । ‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित महाधिवेशन गर्न लागिएको परिषदले जनाएको छ ।
परिषद्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘विश्वभरि छरिएर रहेका तामाङ समूदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्ले भारतको दाजलिङ मिरिकमा आगामी २०१८ डिसेम्बर १४, १५ र १६ तारिख या २०७५ मङ्सिर २८, २९ र पुस १ गते ‘चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन’ को तयारी गरिरहेको सहर्ष जानकारी गराउन चाहन्छौं । पहिलो दिन विशेष समारोहसहित भारत सरकारका पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले सम्मेलनको उद्घाटन गर्नुहुनेछ भने दुई दिन बन्दसत्रको कार्यक्रम रहेको छ ।’

परिषद्का अध्यक्ष महेन्द्रजंग तामाङले विज्ञप्ति वाचन गर्दै चौथो महाधिवेशनबाट प्रगतिशिल नेतृत्व छनोट गर्ने बताए । तामाङले विज्ञप्ति वाचन गर्दै आगामी मंसिर २८ देखि पुस १ गतेसम्म चल्ने महाधिवेशनबाट प्रगतिशील नेतृत्व छनोट गर्ने बताए ।
उनले भने, ‘विश्वभरका तामाङहरुको एउटै साझा संस्थाको रुपमा रहेको अन्तर्राष्ट्रिय तामाङ परिषद्लाई नयाँ उचाईमा पु¥याउका लागि हामी प्रतिबद्ध भएर लागिरहेका छौं, आगामी नेतृत्वले पनि आफ्नो भूमिकालाई अझ सशक्त बनाएर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा दक्षिण कोरियाका लागि पूर्वराजदूत कर्मासिंह लामाले आगामी पाँच वर्षपछि प्रदेश नम्बर ३ लाई नेवाः तामसालिङ प्रदेशको रुपमा स्थापना गरेरै छोड्ने दाबी गरेका छन् ।

उनले भने, ‘संविधान कुनै धर्मग्रन्थ होइन, आजको दिनमा हाम्रो माग असफल भएपनि आगामी पाँच वर्षपछि पूरा हुन्छ, हाम्रो माग यथावत छ, नेवार र तामाङ समुदायको हकअधिकार सुरक्षित गर्नको लागि हामी निरन्तर लागिरहन्छौं ।’

त्यस्तै कार्यक्रममा परिषदका संस्थापक सदस्य पर्शुराम तामाङले आगामी परिषदको नेतृत्व भारतीय नागरिकले लिने स्पष्ट पारेका छन् ।

उनले भने, ‘हाम्रो आफ्नै प्रकारको विधान र नीतिहरु छन्, वर्तमान विधान पनि केही रुपमा परिवर्तन हुनेछ, विधान बमोजिम नै अबको नेतृत्व भारतले पाउने हो, सम्मेलनमा नेपालसहित भारत, कतार, जापान, अमेरिका, कुवेत, दक्षिण कोरिया, यूएई, हङकङ, ओमान, बेल्जियम, साउदी, अष्ट्रेलिया, बेलायत, पोर्चुगल, बहराईन, मकाउ, भाईल्याण्ड, बर्मा, भुटानलगायतका देशहरु छन् ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्