‘राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन’ : अध्यक्ष कोइराला

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ कात्तिक । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले मौजुदा नियमअनुसार नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले नै पाउनुपर्ने दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सार्वजनिक खरिद ऐन नियमावलीअनुसार प्राविधिक र आर्थिक प्रस्तावमा छनौट भएको पप्पुको फाइल अब अल्झाएर राख्न नहुने धारणा राखे ।

उनले भने, ‘पप्पु एक्लैले प्रस्ताव हालेको होइन, उसले चिनियाँ कम्पनी मुख्य साझेदार राखेर प्रस्ताव हालेको हो । तर, अहिले पप्पुको नाम अगाडि आएको छ । सार्वजनिक खरिद ऐन र मौजुदा नियमानुसार पप्पुको प्रस्ताव स्वीर्कत भइसकेको छ । अब उसले नै ठेक्का पाउनुपर्छ । नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन ।’

उनले थपे, ‘राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुले नै पाउनुपर्छ । कुनै नियम र कानूनले अब उसलाई रोक्दैन । पप्पु कालोसूचीमा परेको कम्पनी होइन । कालोसूचीमा परेको भए त उ ठेक्का प्रक्रियामा सहभागी नै हुन पाउँदैन थियो ।’
मिडिया पप्पुको पछि लाग्नुको कारण आफूले नबुझेको उनले बताए । उनले भने, ‘पप्पुले गलत गरेको छ भने कारबाही गर्नुपर्छ । समयमै काम गर्न सक्दैन भने कारबाही गर्नुपर्छ ।’

राष्ट्र बैंकको भवन निर्माणको यो ठेक्कामा पप्पुले २ अर्ब ६ करोड रुपैयाँ प्रस्ताव हालेको छ भने अच्युत खरेलको समानान्तरले २ अर्ब ८ करोड रुपैयाँको हालेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्