विजय गच्छदार अब कांग्रेस उपसभापति !

bijaya-gachhedar
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । चुनाव अघि नेपाली कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरम बिलय नै गराएका विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसको उपसभापति बनाइने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गच्छदारलाई नेपाली कांग्रेसको मौजुदा विधानको बाधा अडकाउ फुकाउको प्रयोग गर्दै उपसभापति बनाउने तयारी गरेका हुन् ।

मंगलबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवाले गच्छदारलाई उपसभापति बनाउन प्रस्ताव गर्ने भएका छन् । नेपाली कांग्रेसको विधानमा एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र एक कोषाध्यक्षको व्यवस्था रहेको छ । गच्छदारलाई उपसभापति बनाउदा विधानको यो व्यवस्था मिचिने भएका कारण बाधा अडकाउ फुकाउको प्रयोग गर्दै सभापति देउवाले उपसभापति बनाउने तयारी गरेका हुन् ।

नेपाली कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरम बिलय गराउदा पदाधिकारी सहित केन्द्रीय समितिमा समेट्ने आश्वासन दिइए पनि पार्टी बिलय भएको एक बर्षसम्म पनि आफुहरुलाई भुमिका नदिइएको प्रति गच्छदार असन्तुष्ट रहदै आएका थिए । उनले कांग्रेसका कतिपय मञ्चहरुमा आफ्ना असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

गच्छदारसँगै कांग्रेसमा आएका रामजनम चौधरीले सोमबारसम्म पार्टी सभापतिका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका उपनेता समेत रहेका विजयकुमार गच्छदारलाई पार्टीको उपसभापति सहित नेपाल लोकतान्त्रिक फोरमका नेताहरुलाई केन्द्रीय समितिमा समायोजन गर्ने बारेमा छलफल भएको र मंगलबारको बैठकमा निर्णय गर्ने आश्वासन पाएको बताए ।

महासमितिबाट विधान संशोधन गरि पार्टीको आगामी महाधिवेशनबाट मात्रै पदाधिकारीको संख्या थप्नुपर्छ भन्ने मत केन्द्रीय समितिमा रहेपनि पार्टी बिलय गराउन आउदा गच्छदारलाई दिइएको बचनको मान समेत राख्नुपर्ने मत समेत केन्द्रीय समितिमा छ ।

कांग्रेस नेता अर्जुननरसिंह केसी बचन निभाउन गच्छदारलाई उपसभापति बनाउने कुराको आफुहरुको तर्फबाट बिरोध नहुने बताए । तर, विधानमा नभएको यो व्यवस्थाका लागि सभापतिले बाधा अडकाउ फुकाउनुपर्ने बताए ।

पार्टीका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले गच्छदारलाई बाधा अडकाउ फुकाउ मार्फत उपसभापति बनाउने र नेपाल लोकतान्त्रिक फोरमका अन्य नेता कार्यकर्ताहरुको समायोजनका बारेमा केन्द्रीय समितिबाट कार्यदल बनाई काम अघि बढाइने गरि निर्णय हुने संभावना रहेको बताए ।

मंगलबारको बैठकले गच्छदारलाई उपसभापति बनाएको अवस्थामा नेपाली कांग्रेसले तराई मधेशबाटै बिमलेन्द्र निधिसहित दोस्रो उपसभापति पाउनेछ । मंगलबार बस्ने कांग्रेस बैठकले आन्तरिक तयारी तथा विधान संसोधनको काम नसकिएको भन्दै महासमितिको बैठक मंसिर भित्रै गर्ने गरि सार्ने संभावना रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्