पोखरा, २० कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि घरेलु टोली पोखरा पल्टनले जितेको छ । पोखराले चितवनलाई तीन विकेटले पराजित गर्दै उपाधि घरमै राखेको हो ।
मंगलबार पोखरा रंगशालामा भएको फाइनलमा पारस खड्का कप्तानीमा रहेको चितवनले राइनोजले शरद भेषवाकरको पोखरा पल्टनलाई १६१ रनको लक्ष्य दिएको थियो । चितवनले दिएको मध्यम लक्ष्य पोखराले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो ।
उपाधि हात पारेको पोखराले नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो रकमको पुरस्कार २७ लाख प्राप्त गरेको छ । त्यस्तै उपविजेतामा चित्त बुझाएको चितवनले १० लाख प्राप्त गरेको छ ।
ब्याटिङतर्फ पोखराका लागि रबि इन्दर सिंहले सानदार पारी खेले । उनले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० बनाए । त्यस्तै कप्तान शरद भेषवाकरले २२ रनको योगदान दिए । मोहमद नाभिदले २५ रन बनाउँदा आसिफ शेखले १२ रन जोडे ।
बलिङतर्फ चितवनका लागि भुवन कार्कीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रनको योगफल तयार पारेको थियो ।
चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक हिर्काए । उनले ३७ बलमा ९ चौकासहित ५१ रनको योगदान गरे । अनिल शाह ३७ रन बनाउँदै पेभेलियन फर्केका थिए ।
बलिङतर्फपोखराका लागि कृष्ण कार्कीले २ विकेट लिए भने मोहमद नाभिद र ललित नारायण राजवंशीले समान एक-एक विकेट लिए ।