शीर्ष नेताहरुको जमघट, को–को पुगे शितल निवास ?

President Bhandari
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल पार्न दलहरु एकजुट हुनुपर्ने बताएकी छन् । तिहार, नेपाल सम्वत ११३९ तथा छठ पर्वको उपलक्ष्यमा राष्ट्रपति भण्डारीले बुधबार शितल निवासमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरा बताएकी हुन् ।

सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु, पूर्व सभामुखसहित विभिन्न दलका शिर्ष नेताहरु सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा लोकतन्त्रसहितको ठूलो राजनीतिक परिवर्तन गर्न दलहरुले निर्णायक भूमिका निर्वाह गरेकाले अब देशको विकास एवं आर्थिक समृद्धिको यात्रालाई सफल पार्नसमेत दलहरु एकजुट हुनुपर्ने कुरा औंल्याइन् ।

भण्डारीले आर्थिक विकासको अभियानलाई तीब्रता दिन आफ्नो तर्फबाट सरकार र राजनीतिक दलहरुलाई सदाझैँ सक्दो सहयोग रहने पनि बताइन् । उनले राष्ट्रिय एकताले मात्र समृद्धि र विकास सम्भव हुनेमा जोड दिइन् ।

शुभकामनामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, खिलराज रेग्मी, नेताहरू रामचन्द्र पौडेल, राजेन्द्र महतो, रामचन्द्र पौडेल, शशांक कोइराला, सुजाता कोइराला, विमलेन्द्र निधि, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, ओनसरी घर्ती, भीम रावल, विष्णु पौडेल, विजयकुमार गच्छदार, मनिष सुमन लगायत नेताहरूको सहभागिता थियो ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पोखरामा रहेकाले कार्यक्रममा सहभागी हुन नसकेको शितल निवास स्रोतले बतायो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्