काठमाडौं, २९ कात्तिक । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले राष्ट्रिय समाचार समिति (रासस)लाई थप विश्वसनीय समाचार संस्थाका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनका अवसरमा बिहीबार रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले राससलाई सरकारीभन्दा सार्वजनिक सञ्चारमाध्यमका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
प्रजातान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कुरा हुन नसक्ने उनको भनाइ थियो ।
नेता थापाले काँग्रेसले संविधान कार्यान्वयनमा सरकारलाई सहयोग गर्ने बताउँदै देश र जनताको हित नहुने विषयमा सधैं खबरदारी गरिने स्पष्ट पारे ।
आन्दोलनको उपलब्धि पूरा गर्न र समृद्ध मुलुक निर्माण गर्न सरकार लाग्नुपर्ने उनको भनाइ थियो । संविधानको सफलता नै आफ्नो सफलता हो भनेर अगाडि बढे मात्र सरकार सफल हुने उनले बताए ।