नेकपा एकीकरण : को–को बन्दैछन् प्रदेश समिति सदस्य ?

Kp oli With Prachanda
लाेकपाटी न्यूज

काठमाडौं, २ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण कार्यदलले सातवटै प्रदेश कमिटीमा सदस्यहरूको नामावली टुंगो लगाएको छ । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले प्रदेश कमिटीमा रहने पदाधिकारी र सदस्यहरूको नामावलीको टुंगो लगाएको हो ।

आगामी मङ्सिर ६ गते बस्ने सचिवालय बैठकबाट निर्णय भई स्थायी समितिले नामावली पारित गरेपछि नेकपाका प्रदेश कमिटीहरूले पूर्णता पाउनेछन् । सबै प्रदेशमा रहने सदस्यहरूको नामावलीको गृहकार्य सकिएलगत्तै ६ मङ्सिरमा केन्द्रीय सचिवालय बैठक बोलाउने निर्णय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् । त्यसलगत्तै स्थायी समिति बैठकबाट एकीकरणको बाँकी कामलाई गति दिने नेकपाका अध्यक्ष प्रचण्डले बताएका छन् ।

बेलायत भ्रमणमा गएका वरिष्ठ नेता माधवकुमार नेपाल पनि ६ मङ्सिरको बैठकका लागि ३ मङ्सिरमै स्वदेश फर्कंदै छन् । एकीकरणका लागि गृहकार्य नपुगेको भन्दै पाँचपटकसम्म स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ ।

पछिल्लोपटक १३ र १४ कात्तिकमा बोलाइएको बैठक स्थगित भएको थियो । एकीकरणको काममा ढिलाइ हुँदै गएकोमा नेता–कार्यकर्ता पंक्तिले नेतृत्वको आलोचना गर्नेक्रम बढ्दै जाँदा सचिवालय बैठकको नयाँ मिति तोकिएको हो ।

कार्यदलले प्रदेश कमिटी सदस्यहरूको नाम नयाँ मापदण्डका आधारमा तयार पारेको हो । प्रदेश कमिटीमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यहरू पदेन सदस्य हुनेछन् । त्यस्तै, तत्कालीन एमालेबाट यसअघि प्रदेश कमिटीमा रहेकाहरू, तत्कालीन जिल्ला अध्यक्ष र राष्ट्रिय परिषद् सदस्यहरू र पूर्वअञ्चल कमिटी सदस्यहरूलाई प्रदेश कमिटीमा समेटिएको छ ।

तत्कालीन माओवादीबाट भने केन्द्रीय कमिटी सदस्यमा छुटेका तत्कालीन पोलिटब्युरो र केन्द्रीय सदस्यहरू वरिष्ठताका आधारमा प्रदेश कमिटी सदस्यमा सिफारिसमा परेका छन् । ‘मापदण्डका आधारमा कार्यदलले प्रदेश कमिटीमा रहनेहरूको नामावली प्रस्ताव तयार पारेको छ,’ कार्यदलका सदस्यद्वयको भनाइ छ ।

कार्यदलले पहिले पोलिटब्युरो गठनपछि मात्र केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन गर्ने गरी गृहकार्य अघि बढाएको छ । जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, क्षेत्रीय इञ्चार्जहरू तोक्दा वरिष्ठ र कनिष्ठको समस्या आउनसक्ने हुँदा पोलिटब्युरो बनेपछि मात्र कार्यविभाजन प्रस्ताव अघि बढाउने गरी कार्यदलले नयाँ तयारी सुरु गरेको हो ।

पहिले पोलिटब्युरो बनेपछि मात्र केन्द्रीय सदस्यको कार्यविभाजन गर्दा सिनियरलाई इञ्चार्ज र जुनियरलाई सहइञ्चार्ज तथा क्षेत्रीय इञ्चार्जको जिम्मेवारी तोक्न सहज हुने स्थायी समिति सदस्य बेदुराम भुसालले बताए ।

कार्यदललाई केन्द्रीय सचिवालयले कार्यविभाजन प्रस्ताव तयार पार्न दिएको म्याण्डेटसमेत सच्याइएको छ । अध्यक्ष ओली र प्रचण्डसँग कार्यदल सदस्यहरूले परामर्श गरेपछि पहिले पोलिटब्युरो गठनपछि मात्र कार्यविभाजन गर्ने गरी कार्यविधि सच्याइएको बताइएको छ । यद्यपि अध्यक्ष प्रचण्डले आगामी सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुको कार्यबिभाजन हुने बताएका छन् ।

जिल्ला कमिटीको नेतृत्व र सदस्यका सन्दर्भमा पनि स्थायी समितिबाट नयाँ मापदण्ड तोकेर एकीकरणलाई पूर्णता दिने तयारी भइरहेको छ । केही नेताहरु गुटबन्दीमा लागेपछि योग्यता र बिगतमा जानाजानी जिम्मेवारी नदिइएका ब्यक्तिलाई समेत नेतृत्व दिन गरी गृहकार्य अघि बढेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्