प्रकाशलाई नरबहादुर कर्माचार्यले अति माया गर्नुहुन्थ्यो : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रकाश दाहालको प्रथम स्मृति दिवसमा प्रकाशित पुस्तकमा प्रचण्डले अत्यन्तै भावुक संस्मरण लेखेका छन् । प्रकाशको स्मृतिमा आयोजित कार्यक्रममा उनको संस्मरण सार्वजनिक गरिएको हो ।

प्रचण्डले संस्मरणमा लेखेका छन्, ‘२०४९ सालमा हाम्रो बसाई सौगालबाट ललितपुरको कुम्भेश्वरमा (पार्टीका तत्कालीन एक मात्र जीवित संस्थापक क. नरबहादुर कर्माचार्यको विशेष संरक्षणमा रहने गरी) सारियो । क. नरबहादुर कर्माचार्य र उहाँका परिवारका सबै सदस्यहरुको विशेष पे्रम, सद्भाव र सहयोगका कारण हाम्रो कुम्भेश्वर बसाई पनि विशेष सुखमय र फलदायी रह्यो । नरबहादुर कर्माचार्यले प्रकाशलाई सानो भएकाले विशेष माया गर्ने, ठ्टटा–मजाक गरेर हसाउने, बजार घुम्न लिएर जाने, मीठो मीठो खाजा खुवाउने गरेका कारण प्रकाशको क. नरबहादुर कर्माचार्य र उहाँको सिङ्गै परिवारप्रति विशेष सम्मानपूर्ण अनुराग रहन गएको थियो ।’

प्रचण्डले लेखेका छन्, ‘ने. क.पा. (एकता-केन्द्र) को पनि म महासचिव निर्वाचित भएपछि पार्टीकै आवश्यकता र निर्णयअनुसार हाम्रो परिवार २०४६ सालमा ललितपुरको सौगलस्थित निरञ्जन गोविन्द वैद्यको घरमा रहेको पार्टी कार्यालयमै रहने गरी बसाई सर्‍यो । मावली घरमा रहेर पढिरहेकी माइली छोरी रेनुबाहेक ज्ञानु, गङ्गा र प्रकाश २०४६ सालदेखि ललितपुरकै एक सामुदायिक विद्यालयमा भर्ना गरिए । र, त्यहीँ पढ्न थाले । अर्धभूमिगत रुपमा रहेको पार्टी नेतृत्वका लागि आवश्यक पर्ने साना–तिना व्यवहारिक कार्यमा निकै सक्रियता र तत्परताका साथ काम गर्नु प्रकाशको २०४८ देखि २०५२ सालसम्मको झण्डै दिनचर्या बन्न गयो ।’

प्रचण्डले थपेका छन्, ‘जनयुद्धको पहल गर्ने दिन नजिक आउँदै जाँदा आकस्मिक रुपमो हाम्रो परिवार कुम्भेश्वर छोडेर भूमिगत रहन अन्यत्र सर्‍यो । कुम्भेश्वरमा क. नरबहादुर कर्माचार्यलाई मात्र आकस्मिक रुपले हामी कहाँ र किन सर्‍यौं भन्ने जानकारी थियो । क्रान्तिप्रतिको निष्ठा एवं म र मेरो परिवारप्रतिको प्रेम र विश्वासका कारण क. नरबहादुर कर्माचार्यले औपचारिक रुपमा एउटै पार्टीमा नरहे पनि गोपनियता र सुरक्षा बनाई राख्न निकै ठूलो र ऐतिहासिक सहयोग गरिरहनुभयो । यो प्रेम र विश्वास पछिल्लो पार्टी एकता हुँदै मृत्युपर्यन्त क. नरबहादुर कर्माचार्यले कायम राख्नुभयो । हाम्रो सिङ्गो पार्टी र परिवार उहाँको यो मानवीयताप्रति उच्च सम्मान र श्रद्धा राख्दछ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्