काठमाडौं, ५ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ‘एकीकृत जनक्रान्ति’को कार्यदिशामार्फत वैज्ञानिक समाजवाद हासिल गर्ने बताएको छ । त्यसका लागि यही मंसिर ८ गतेबाट साताव्यापी पूनर्गठन दिवस मनाउने पनि घोषणा गरेको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा आगामी मंसिर ८ गते काठमाडौं आयोजना गरिने जनसभाका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य चीरन पुनले यस्तो बताएका हुन् ।
‘सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔं, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौं’ भन्ने मुल नाराका साथ आफूहरुले उक्त जनसभाको आह्वान गरेको पुनले जानकारी दिए ।
उनले भने, ‘वर्तमान सरकारबाट जनतामाथि ठूलो धोका भएको छ, जनताले दुःख पाएका छन्, सबैभन्दा बढि जनताको बीचमा रहेको हाम्रो पार्टीलाई न्यायको फैसला गर्न भनेका छन्, त्यसैअनुरुप हामीले मंसिर ८ गते पार्टी पुनःगठन दिवसको अवसरमा जनताका आवाजबारे हाम्रो पार्टीका प्रवक्ताले सम्बोधन गर्नुहुनेछ ।’
पार्टीका महासचिव क. विप्लवलाई लुकाउनुको कारण के हो नि ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा पुनले भने, ‘पार्टीको निर्णयअनुसार नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भेलाको सम्बोधन गर्नुहुनेछ, उहाँ लुक्नुभएको पनि होइन, लुकाएका पनि होइनौं, आजको दिनमा सबैभन्दा धेरै जनता भएको पार्टी हाम्रो पार्टी हो, विशेष कारणबश उहाँ आउनु हुनेछैन ।’