बस दुर्घटना : मृतक परिवारलाई राहत दिइने

Paisa02
लाेकपाटी न्यूज
0 Shares

राजविराज, ९ मंसिर । प्रदेश नं २ को सरकारले सप्तरी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई रु. एक/एक लाख राहत दिने भएको छ ।

दुर्घटनामा घाइते भएकाको अवस्था तथा मृतकलाई श्रद्धाञ्जलि दिन सप्तरी आएका प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतक परिवारलाई रु. एक/एक लाख राहतस्वरुप दिने दिने घोषणा गरे ।

यसका साथै घाइते भएकाको उपचारमा लाग्ने खर्चसमेत प्रदेश सरकारले व्यर्होने मन्त्री यादवले घोषणा गरे । सुनसरीको वराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका यात्रु बोकेको को १ ख २७९९ नंको बस अनियन्त्रित भई सप्तरीको भारदह–राजविराज सडकखण्डअन्तर्गत इनरुवा नजिकै रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी डाक्नेश्वरी नगरपालिका वडा नं ५ की ७० वर्षीया वेचनीदेवी यादव, २ की ६० वर्षीया शिकिलादेवी साह, वडा नं ४ का ५५ वर्षीय दिनेश रजक, सोही वडाकी ५० वर्षीया बौकीदेवी रजक र वडा नं ५ की ६० वर्षीया भुखनीदेवी यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

सो दुर्घटनामा ४८ जना यात्रु घाइते समेत थिए । घाइतेमध्ये गम्भीर भएका १४ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोवेल र न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्