‘राष्ट्रपतिले यो गाडी चाहिन्छ भनेर माग्नुभएको छैन’ : नेता पौडेल

Debendra Paudel02
लाेकपाटी न्यूज

काठमाडौं, ९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्धपी उनले भयंकर गल्ती नै गरेकोजस्तो सरकारबाट नभएको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले वर्तमान सरकार ६, ८ वा ९ महिनाको लागि मात्रै गठन नभएको बताउँदै भने, ‘यो सरकार ५ वर्षको लागि गठन भएको हो । सरकारले यो बीचमा कर प्रणालीलाई नियमन गरेको छ । तर ,अहिले प्रभावकारी र लोकप्रिय काम नपुगेको साँचो हो । अर्को सालमा काममा गति हुन्छ । स्वयम प्रधानमन्त्रीले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर कार्यप्रगतिको समीक्षा गर्नुभएको छ ।’

उनले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भीर रुपमा समिक्षा गर्नुपर्ने बताए । उनले भने, ‘हामी यस विषयमा पार्टीभित्र गम्भिर समीक्षा गर्छौं । सरकारमा सहभागी गठबन्धन दलसँग छलफल गर्छौं । स्वयम् प्रधानमन्त्रीले पनि चूनौतिको महशुस गर्नुभएको छ ।’

नेता पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने बताए ।

उनले भने, ‘सम्मानीय राष्ट्रपतिज्यूले मलाई यो प्रकृतिको गाडी चाहियो भनेर माग्नुभएको छैन । गाडी खरिद गर्ने निर्णय २०७१ सालमै भएको हो । तर, एउटा दुई वटा गाडी खरिद प्रकरणलाई लिएर यसरी लिनु राम्रो हुँदैन । बरु हामीले विकास निर्माणको बारेमा बहस गर्नुपर्छ । सम्मानित संस्थालाई बेप्रसँगमा विवादमा ल्याउनुहुँदैन ।’

राष्ट्रपति तथा प्रधानमन्त्रीको जीवनस्तर सामान्य होस् भन्ने जनताको चाहना हुनु स्वभाविक भएको उनको प्रतिक्रिया छ । तर, सुरक्षाको हिसाबले ‘बुलेट–प्रुफ’ गाडी चाहिनु पनि अस्वभाविक नभएको नेता पौडेलको जिकिर छ । उनले भने, ‘जनताको खबरदारीलाई सहजताका साथ लिनुपर्छ । तर, अहिले १८ करोडमा एउटामात्रै गाडी किन्ने कुरा भएको होइन, ग्रुपमा गाडी किन्न लागिएको हो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्