काठमाडौं, ११ मंसिर । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने घोषणा गरेका छन् ।
मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले यस्तो घोषणा गरेका हुन् ।
उनले नेपाल नयाँ युगमा प्रवेश गरेको बताउँदै सबै नेपालीको सुरक्षित र सुनिश्चित नयाँ यात्रा सुरु भएको दाबी गरे । उनले भने, ‘सामाजिक सुरक्षा योजना कार्यान्वयनले स्वदेशमै रोजगारका अवसरहरु सिर्जना हुनेछन् । जसले वैदेशिक रोजगारमा कमी आउँछ ।’
मन्त्री विष्टले सबै श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायराभित्र समावेश गरिएको बताए । उनले सामाजिक सुरक्षा योजना तयार पार्न आफूहरुले रोजगारदाता ट्रेड युनियन र विज्ञहरुसँग छलफल गरेको स्मरण गरे ।