पटिहानीमा सुविधासम्पन्न रिसोर्ट बन्दै

Resort
लाेकपाटी न्यूज
0 Shares

चितवन, १२ मंसिर । भरतपुरको पटिहानी क्षेत्रमा ठूला होटल तथा रिसोर्ट खुल्ने क्रम बढेको छ । झण्डै ३ अर्ब लगानीमा स्तरीय पर्यटकीय होटल तथा रिसोर्ट खुल्न थालेका छन् । रिभरसाइड रोयल गार्डेन रिसोर्ट (आरआरजीआर), चितवन जंगल लज, रिभर बैंक जंगल रिसोर्ट निर्माणाधीन छन् । यस्तै ४ वटा पर्यटकीयस्तरका होटल निर्माणको क्रममा छन् । राप्ती किनारमा विघौँ जग्गा खरिद गरेर रिसोर्ट बनाउने होडबाजी नै चलेको छ ।

‘३ तारे ४ र पर्यटकीय १ दर्जन होटल तथा रिसोर्ट सञ्चालनमा आइसकेका छन्,’ भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतो भन्छन्, ‘राप्ती किनारमा जग्गा खरिद गरेर बसेकाहरु पनि होटलको डिजाइनमा लागिसकेका छन् ।’ महतोका अनुसार यस आर्थिक वर्षदेखि धेरै होटल तथा रिसोर्ट निर्माणको काम सुरु हुने तयारी बढेको छ ।

‘तटीय क्षेत्रमा जग्गाा खाली नराख्नु, कि बेच्नु कि बनाउनु भनेर सुझाएका छौँ,’ उनले भने, ‘झाडी फालेर कम्पाउण्ड गर्ने काम हुन थालेको छ, कलात्मक होटल तथा रिसोर्ट बनाउने गरी डिजाइन गरेका छन् ।’ पटिहानी क्षेत्र थारु समुदायको बाहुल्यताको बस्ती भएकाले थारु संस्कृति झल्काउने गरी संरचना निर्माण गर्न अनुरोध गरिएको उनले बताए ।

पटिहानी क्षेत्रमा पहिलोपटक वि. सं. २०४९ सालमा ९८ बेड क्षमताको नारायणी सफारी होटल सञ्चालनमा आएको थियो । जुन १२ बिधामा फैलिएको छ । वैशाखदेखि सञ्चालन गर्ने गरी निर्माणको क्रममा रहेको आरआरजीआर रिसोर्टमा १ अर्ब लगानी हुँदैछ । चितवनका १२ सहित १८ जनाको लगानीमा बन्न लागेको रिसोर्ट ५ विघामा फैलिएको छ । ‘सार्क सम्मेलनसम्म गर्न मिल्ने संरचना तयार हुनेछन्,’ रिसोर्टका म्यानेजिङ डाइरेक्टर ऋषि न्यौपानेले भने, ‘आर्कषक रुपमा सजाइएका ‘स्पेशल रुम’ बन्नेछन्, २ सय ४० जनालाई बास दिने लक्ष्य छ ।’ वैशाखसम्म ७ भिल्ला (व्यक्तिगत एकल घर) र ४२ रुप तयार हुनेछन् ।

‘पहिलो चरणको निर्माणमा ५५ करोड लगानी हुनेछ,’ उनले भने, ‘लगत्तै दोस्रो चरणका निर्माण काम सुरु हुनेछन् ।’

एउटा भिल्ला बनाउन रु. ६० लाख खर्च हुने बताए । उनका अनुसार रिसोर्टका प्रत्येक कोठा सजावटका लागि रु. १८ लाख खर्च हुनेछ । ‘धेरै भिल्लासहितको रिसोर्ट सम्भवतः चितवनको यही हुनेछ,’ उनले भने, ‘पर्यटकका लागि मात्रै होइन, अन्तर्राष्ट्रियस्तरका ठूला कार्यक्रम गर्न मिल्ने गरी रिसोर्ट बनाउँदै छौँ ।’ भीआईपीका लागि बास बस्न भिल्ला उपयुक्त हुने उनको भनाइ छ । एक भिल्लामा बास बस्दा एकरातको न्यूनतम रु. ६० हजार लाग्ने उल्लेख गरे ।

हरेक भिल्लामा स्वीमिङ पुल बन्नेछन् । ६ सय जनको कन्फरेन्स हल र १ हजार जना बसेर खान मिल्ने रेष्टुरेण्ट तयार गरिने उनले बताए । ‘पर्यटकलाई घुमाउने, बास दिने प्याकेज बनाइनेछ,’ उनी भन्छन्, ‘व्यवसायिक छलफल, सेमिनार गर्न पनि रिसोर्ट प्रयोग गर्न मिल्ने गरी बनाउन लागेका छौँ ।’

भविष्यमा ५ तारे होटल बनाउने लक्ष्य लिइएको छ । आरआरजीआरमा लगानी गर्ने अधिकांश शेयर सदस्यले यसअघि भरतपुर गार्डेन रिसोर्ट, गोदावरी फरेष्ट रिसोर्ट सञ्चालनमा ल्याएका छन् भने गोर्खामा अर्को रिसोर्ट बनाउने तयारीमा छ ।
पटिहानीमा निर्माणको क्रममा रहेको ६० बेड क्षमताको चितवन जंगल लज साढे ३ विघा क्षेत्रफलमा छ । साढे ४ विघामा बनाउन लागिएको रिभर बैंक जंगल रिसोर्ट ९० बेड क्षमताको बन्दैछ । पटिहानी पर्यटकीय क्षेत्रमा ९८ बेडको नारायणी सफारी १२ विघा, ६८ बेडको कसरा रिसोर्ट साढे ३ विघा, ५५ बेडको जंगल भिल्ला साढे ४ विघा, ३० वेडको इन्टु द वाइल्ड इको रिसोर्ट १ विघा, ५८ वेडको जगतपुर लज ५ विघा, ६० वेडको टाइगर ल्याण्ड सफारी साढे ४ विघा क्षेत्रफलमा छन् । यही क्षेत्रमा पूर्वस्वास्थ्य सचिव किरण रेग्मीको ढेड विघा, डा. कनकमणि दिक्षितको साढे ३ विघा, पर्यटन व्यवसायी त्रिलोक चित्रकारको ३ विघा, प्रमोद र चिजकुमार श्रेष्ठको २ विघा जग्गामा पनि होटल तथा रिसोर्ट बनाउने तयारी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्