कम्प्युटर/मोबाइलले आँखामा समस्या छ ? यसो गर्नुहोस्

computer eye
लाेकपाटी न्यूज
0 Shares

कम्प्युटर, मोबाइल, डिजिटल स्क्रिन (श्रव्य दृश्य, पर्दा) मा अत्यधिक हेर्ने काम गर्नाले आँखामा आउने बहुपक्षीय परिवर्तन नै कम्प्युटर भिजन सिन्ड्रोम हो। भर्चुअल सामाजिक सञ्जाल, आकासिँदो एन्ड्रोइड मोबाइल प्रविधिको पहुँचले गर्दा कुनै न कुनै रुपमा यसका प्रयोगकर्ता आँखाको समस्याबाट ग्रसित हुन थालेको देखिन्छ।

अमेरिकन अप्टोमेट्रिक एसोसिएसनका अनुसार कम्प्युटर भिजन सिन्ड्रोम भन्नाले आँखाको विभिन्न अंग तथा दृष्टिको जटिल अवस्था हो, जुन विशेषतः लगातार कम्प्युटरको कार्य गर्नाले हुन्छ। सुरुमा सामान्य समस्या आए पनि समयमै यसको उचित व्यवस्थापन नगरेमा कालान्तरमा धेरै जटिल समस्या निम्त्याउँछ।

त्यसैले यसको प्रत्यक्ष असर व्यक्तिमा त पर्छ नै, यसले कार्यरत संस्थाको उत्पादकत्वमा समेत कमी ल्याउँछ। त्यसैले तत्सम्बन्धी व्यावसायिक पेसा अँगालेका व्यक्तिहरुले समयमै व्यावसायिक सुरक्षामा ध्यान दिनुपर्छ।

सन् २०१० सम्ममा विश्वभर अध्ययन, जागिर तथा व्यवसायमा ७५ प्रतिशत कार्य कम्प्युटरबाट भएको अनुमान गरिएको छ। अमेरिकामा मात्र १ करोड व्यक्ति यस रोगबाट ग्रसित छन्।

जुनसुकै व्यक्ति प्रतिदिन औसतमा २ घन्टाभन्दा धेरै समय कम्प्युटरमा व्यतित गर्दछ भने उसलाई यो समस्या हुने गरेको विभिन्न अनुसन्धान तथा सर्वेक्षणले देखाएको छ।

जुन व्यक्तिलाई पहिलादेखि नै दूरदृष्टि तथा अदूरदृष्टिको समस्या छ, त्यस्ता व्यक्ति यस किसिमको जोखिममा अग्रस्थानमा पर्ने हुन्छ। कम्प्युटर भिजन सिन्ड्रोम हुनेमध्ये ७१ प्रतिशतलाई यस्तो किसिमको दृष्टिमा समस्या हुने गरेको अध्ययनले देखाएको छ।

कम्प्युटरको पर्दा (डिस्प्ले), रिजोलुसन, अक्षर, फन्टको आकार, वर्णको विन्यास, कलरको कन्ट्रास्ट अस्वभाविक मधुरो तथा चर्को हुनु। बारम्बार घटबढ भइरहने डिस्प्ले तथा फन्टको प्रयोगले यसको जोखिम बढाउँछ।

अवैज्ञानिक कम्प्युटर कार्यक्षेत्रको संरचनामा कार्य गर्नु। जस्तै धेरै साँघुरो, अँध्यारो, हावा नलाग्ने, बस्ने कुुर्सी तथा कम्प्युटर राख्ने टेबलको असमञ्जस्यता, काम गर्दै जाँदा वरिपरिका प्रकाशका स्रोतबाट आउने अनावश्यक चम्किलो प्रकाश (ग्लेयर एन्ड रिफ्लेक्सन) आदि।

कम्प्युटरको डिजिटल स्क्रिनमा लामो समयसम्म एकोहोरो पढिरहनु। कम्प्युटरको मोनिटरमा देखिने अक्षर बिन्दुहरुको एक गतिशील सूचनाका आधारमा चल्ने हुनाले हाम्रो आँखाका सूक्ष्म मांसपेशीहरुलाई अत्यधिक थकान गराउँछ।

रोग लाग्ने प्रक्रिया : आँखाको सतहमा (नानी तथा सेतो भाग) देखापर्ने परिवर्तन । आँखाको दृष्टि सन्तुलनमा हुने नियमित गतिशीलतामा आउने परिवर्तन । आँखाबाहेकको अरु भागमा आउने परिवर्तन। जस्तैः गर्दन, पिठ्यू दुख्ने आदि ।

सामान्य लक्षण : दृष्टिसम्बन्धी समस्या – नियमित रुपमा धमिलो दृष्टि हुनु। कम्प्युटरमा धेरै समय नजिकको काम गरिसकेपछि तुरुन्त टाढाको वस्तु देख्नमा कष्ट पर्नु। वस्तु देख्ने कार्यमा ढिलाइ हुनु। एक वस्तुको दृश्यमा दुई÷तीन वस्तु देखिनु। आवधिक रुपमा नजिक र टाढाको वस्तु देख्नमा कठिनाइ पर्नु।

आँखाको सतहसम्बन्धी अन्य समस्या – धेरैबेर कम्प्युटरमा काम गरिसकेपछि आँखाबाट आँसु आउनु। आँखामा सुख्खा महसुस हुनु, आँखा बिजाउनु। आँखाको थकावटको कारणले गर्दा टाउको दुख्नु, भारी महसुुस हुनु। विद्युतीय उपकरणबाट निस्कने उज्यालो प्रकाश सहन नसक्ने हुनु।

मांसपेशी तथा शारीरिक दुखावट – घाँटी तथा गर्दनको मांसपेशीमा दुखाइ हुनु। ढाडको दुखाइ हुनु। हातको औंला, हात–पाखुरा, नाडी तथा कुमको दुखाइ हुनु आर्दि ।

अन्य समस्याहरु – शारीरिक थकावट, जकडाहट तथा तथा तनावपूर्ण समय व्यतित हुनु, झर्को लाग्नु, आत्मविश्वासमा कमी आउनु, बारम्बार कार्यक्षेत्रमा गल्ती दोहोरिनु। कार्यभार बढ्दै जानु तथा त्यसबाट पर्ने मनोसामाजिक र आर्थिक समस्या आदि ।

अवस्थाअनुसार रोगको निदान :  प्रथम चरणमा बिरामीको दृष्टि परीक्षण तथा दृष्टि वातावरणको मूल्याङ्कन, बिरामीको इतिवृत्ति – बिरामीको दृष्टि परीक्षण । प्रबल आँखा परीक्षण । आँखामा आएको चिह्नको परीक्षण आदि ।

द्वितीय चरणमा आँखाको सही दृष्टिको पहिचान र सहयोगी चस्माबाट कमजोरीको उपचार गरिन्छ । त्यसपछि गतिशील दृष्टि परीक्षण । आँखाको रङ छुट्याउने शक्तिको परीक्षण । आँखाको ढकनी खोल्ने, चिम्लिने दरको परीक्षण । आँखा सुख्खा भए नभएको परीक्षण । कार्यक्षेत्रको वातावरणीय परीक्षण गरिन्छ ।

रोकथाम – सकभर मोबाइल, कम्प्युटर र अन्य डिजिटल स्क्रिनको लतबाट टाढा रहनुपर्दछ । यदि हाम्रो पेसा नै कम्प्युटरसँग सम्बन्धित हो भने कम्प्युटरको बसाइलाई व्यवस्थापन गर्नु नै सबभन्दा ठूलो रोकथाम विधि हो। जस्तैः कामको बीचबीचमा आराम गर्ने, हिँडडुल गर्ने, आँखाको चिम्लने र खोल्ने गतिलाई नियमित र स्वाभाविक राख्ने, पानी तथा रसजन्य फलफूलको उपयोग गर्ने।

यदि दृष्टिदोष नजिक अथवा टाढा नदेख्ने छ भने तुरुन्त उपयुक्त क्षमताको चश्मा लगाउने। पर्याप्त निद्रा, पोषण, शारीरिक व्यायाम तथा योग नियमित अबलम्वन गर्ने गर्नुपर्दछ ।

पर्याप्त तथा सहज मात्रामा कम्प्युटर कार्य क्षेत्रमा प्रकाशको सन्तुलन कायम राख्ने। जस्तैः झ्याल–ढोका तथा बाहिरबाट कम्प्युटरको स्क्रिनमा सोझै पर्न जाने चम्किलो उज्यालोलाई कम गर्न झ्याल–ढोकाको सिसामा पर्दा तथा सिसामा हलुका मध्य पारदर्शी बनाउने गर्नुपर्छ ।

कम्प्युटरबाट हुने आँखाको थकान तथा समस्याबाट बच्नको लागि कुर्सीमा ९० डिग्रीको कोणमा आसन मिलाई बस्ने, यसरी कुर्सीमा बस्दा हातको र कम्प्युटर किप्याडको कोण १०० डिग्रीको हुनुपर्दछ। किबोर्डको उचाइ बस्ने मानिसको कुहिनोको भन्दा थोरै कम हुनुपर्दछ। यसरी बस्दा शरीर कुप्रो नबनाई, काम गर्दा हातको नाडी नखुम्चाई बस्नुपर्दछ।

कम्प्युटरमा काम गर्दा दुई घोडा र बस्ने आसनबीचको दूरी कम्तीमा पनि ६ इन्च र घोडा नखुम्चाई बस्नुपर्दछ। यसरी बसेको स्थानबाट कम्प्युटर स्क्रिन ३०-४० इन्च दूरीमा र स्क्रिनको र हाम्रो आँखाको कोण तल हेर्दा कम्तीमा पनि १५ डिग्रीको हुनुपर्दछ। यसरी मिलाएर बस्दा यसको जोखिम कम हुन्छ। सकभर कम्प्युटरमा काम गर्दा, फिल्डको कार्यक्षेत्रमा खटिँदा एन्टिग्लेयर चस्माको प्रयोग गर्ने।

कम्प्युटर कार्यबाट नियमित आराम लिने। यदि कम्प्युटरमा लगातर काम गर्ने नै हो भने २०-२०-२० नियम लागू गर्ने। जसको अर्थ यदि लगातार कम्प्युटर काम गर्ने हो भने हरेक २० मिनेटको समय अवधिमा २० सेकेन्डको आराम लिई २० फिट टाढाको वस्तु हेर्ने/चियाउने नियम हो।

आँखाको थकावटलाई कम महसुस गर्न पानीले भिजेको दुवै हातको हत्केला बेस्सरी रगडी हलकासँग आँखाको आँखीभौं र ढकनी वरिपरि मालिस गर्ने। आँखामा अत्यन्त जलन भएमा सुतीको कपडालाई चिसो पानीमा भिजाई आँखा छोप्नुपर्छ।

धूमपान सेवन त्याग्ने तथा विषाक्त तथा प्रदूषित हावाबाट टाढै रहने। कार्यास्थल, अफिस वा घरमा एसी, पंखा जडान गरिएको छ भने बस्ने ठाउँको स्वभाविक आद्र्रता कायमै राख्न कोठामा मुख नछोपिएको भाँडोमा पानी राख्नुहोस् ताकि एसी, पंखा चल्दा स्वभाविक वाष्पीकरण भई आद्र्रता कायम राख्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्