ठूलो परिमाणमा आयातित चिनी भन्सारमै अलपत्र

sugar
लाेकपाटी न्यूज
0 Shares

बाँके, १२ पुस । भारतबाट आयात गरिएको १ लाख ४४ हजार किलो चिनी नेपालगञ्ज भन्सारमा थन्किएको छ ।सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि उक्त चिनी चार महिनादेखि भन्सारमै थन्किएको हो ।

मन्त्रिपरिषद् बैठकले गत भदौ ३१ गते भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु. ६७ लाख २० हजार बराबरको चिनी ल्याइएको थियो ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार सरकारले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेको दुई दिनपछि मात्र व्यापारीले खरीद गरेको चिनी नेपालगञ्ज भन्सारमा आइपुगेकाले भन्सारमै थन्किएको हो ।

सोधपुछ गर्दा पनि माथिल्लो निकायबाट कुनै प्रतिक्रिया नआएको र भारतबाट ल्याइएको चिनी पुनः फिर्ता लैजान नमिल्ने भन्सार अधिकृत परमानन्द जोशीले बताए ।

सरकारले आयात गर्न निश्चित कोटा निर्धारण गरेको भएपनि कति परिमाणमा चिनी नेपालगञ्ज भन्सारबाट आउन दिने भन्ने पत्र भन्सार कार्यालयमा नआएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्