स्थानीय तहले गाडी किन्नमै खर्चिए ७ करोड

लाेकपाटी न्यूज

तेह्रथुम, १७ मंसिर । तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु. सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरिदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल रु. छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरिदमा खर्च भएको छ ।

म्याङ्लुङ नगरपालिकाले चालू आर्थिक वर्षमा रु. ५५ लाखमा एउटा स्कार्पियो गाडी खरिद गरेको छ । यस्तै रु २९ लाखमा १० वटा मोटरसाइकल खरीद गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले बताउनुभयो । गाडी नगर प्रमुखका लागि खरीद गरिएको र मोटरसाइकल नगरपालिकाका १० वटै वडाका वडाध्यक्षका लागि खरीद गरिएको नगरपालिकाले जनाएको छ ।

रु १९ लाखमा एउटा ट्र्याक्टर किनिएको र कर्मचारीका लागि थप १० वटा मोटरसाइकल किन्ने तयारी रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पहिले रु ३० लाखमा किनेको पिकअप गाडी चालू अवस्थामा छ । अरु छ वटा मोटरसाइकल र एउटा स्कुटर पनि सञ्चालनमा रहेको छ ।

लालीगुराँस नगरपालिकाले पनि रु. ३३ लाखको पछाडि सामान बोक्न मिल्ने एउटा चार चक्के गाडी र १५ वटा मोटरसाइकल खरिद गरेको छ । नौ वटा मोटरसाइकल रु. दुई लाख १७ हजारका दरले, तीन वटा रु. दुई लाख ६० हजारका दरले र बाँकी तीन वटा भने रु. दुई लाख तीन हजार, चार लाख ८० हजार र चार लाख ८४ हजारका दरले खरीद गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम निरौलाले बताए ।

यसका साथै रु. ३० लाखको एउटा ट्र्याक्टर, ९५ लाखको एउटा स्काभेटर र ३८ लाखको जेसिवीसमेत खरिद गरेको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा एउटा एम्बुलेन्स खरिदका लागि रु. १० लाख र नगर बस खरीदका लागि रु. ४५ लाख रकम छुट्याएर आवश्यक प्रक्रिया अगाडि बढाइएको अधिकृत निरौलाले बताए ।

उता छथर गाउँपालिकाले पनि रु. ६५ लाखमा पछाडि सामान बोक्न मिल्ने एक सवारी साधन खरिद गरेको छ । चार वटा मोटरसाइकल रु. दुई लाख १७ हजारका दरले रु. आठ लाख ६८ हजारको र रु. दुई लाख ६० हजारमा थप एउटा मोटरसाइकल खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारीले बताए । साविकका गाविसले खरिद गरेका तीन वटा मोटरसाइकल हाल वडाध्यक्षले प्रयोग गर्दै आएका छन् ।

मेन्छ्यायेम गाउँपालिकाले रु. ६१ लाख ५० हजारमा स्कार्पियो गाडी खरिद गरेको छ । रु. दुई लाख १७ हजारका दरले छ वटा मोटरसाइकल पनि खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले बताए ।

फेदाप गाउँपालिकाले रु. ५४ लाख १५ हजारको स्कार्पियो गाडी र रु. पाँच लाख ९४ हजार ९०० का दरले तीन वटा मोटरसाइकल खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताए । उनले रु. तीन लाखका दरले थप तीन वटा मोटरसाइकल पनि चाँडै खरिद गरिने बताए ।

साविक गाविसले पहिले नै पाँच वटा मोटरसाइकल खरिद गरेका थिए । आठराई गाउँपालिकाले रु. ५२ लाखमा एउटा स्कार्पियो गाडी र रु. दुई लाख १५ हजारका दरले चार वटा मोटरसाइकल खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहालले बताए ।

उनले कार्यालय प्रयोजनका लागि थप एउटा मोटरसाइकल खरिद गर्न रु. पाँच लाख रकम छुट्याएको बताए । साविकका गाविसले खरिद गरेका सात वटा मोटरसाइकल वडाध्यक्षले प्रयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

यातायातका साधन आवश्यक भए पनि आवश्यकताभन्दा बढीमात्रामा खरिद गरिनुले जनप्रतिनिधि तथा कर्मचारी अलिक बढी विलाशीता भोगी हुँदै गएको आभास भइरहेको सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्