‘नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्छ’ : मन्त्री अधिकारी

Rabindra Adhikari
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन् ।

हेलिकप्टर सोसाइटी अफ नेपालको उद्घाटन गर्दै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्तगरेका हुन् । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले गम्भीर सुरक्षा चासोलाई हटाइसकेको अवस्थामा आइकाओ मातहतको इयूले नेपाललाई कालोसूचीमै राखिराख्नुपर्ने औचित्य के हो भनी प्रश्न गरे ।

उनले भने, ‘इयूले भनेअनुसार पाँच वर्षदेखिको अभ्यास र उसको मापदण्डअनुसार सुधार गरेका छौँ, हालै इयूका अधिकारी, कूटनीतिक नियोग र उच्चपदस्त अधिकारीसँग पनि कुराकानी गरेको छु, मलाई विश्वास छ छिट्टै नै इयूले नेपालको उड्डयनलाई कालोसूचीबाट हटाउनेछ ।’ सन् २०१३ को डिसेम्बरदेखि इयूले नेपाललाई उडान प्रतिबन्ध गर्दै आएको थियो । उसले एक साताअघि सार्वजनिक गरेको उडान प्रतिबन्ध हुने देशको सूचीमा नेपालसहित १५ देशलाई समावेश गरेको छ । यी देशका ११५ वायु सेवा प्रदायक कम्पनीले युरोपका आकाशमा उडान भर्न नपाउने प्रतिवेदनमा उल्लेख छ । सन् २०१३ मै आइकाओले सुरक्षा चासो राखेकामा गत वर्ष हटाएको थियो ।

मन्त्री अधिकारीले इयूले हटाएन भनेर बस्ने भन्दा पनि वैकल्पिक उपाय खोजेर नेपाल वायु सेवा निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । निगमका सन्दर्भमा उठेका विषयको छानबिन गरी जनतासमक्ष ल्याइने उल्लेख गर्दै उहाँले निगमलाई कमजोर पार्ने खेलमा कोही पनि लाग्न नहुने धारणा राखे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्