काठमाडौं : सरकारले दक्षिण कोरियामा पनि विमान सेवा संचालन गर्ने तयारी गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले सरकारले दक्षिण कोरियामा पनि नेपाल एयरलाइन्सको विमान संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।
बुधबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा बाह्य पर्यटकको संख्या बढाउन सरकारले नेपाल एयरलाइन्सको विमान विभिन्न मुलुकमा संचालन गर्ने संकल्प लिएको पनि स्पष्ट पारे।
मन्त्री अधिकारीले नेपाल पर्यटकका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै सरकार त्यसको पूर्वाधार निर्माणको काममा जुटिरहेको दावी पनि गरे। नेपालको पर्यटक क्षेत्रको विकासका लागि छिट्टै बुद्ध सर्किट स्थापना गर्ने मन्त्री अधिकारीको योजना छ।
उनले मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न सघाउ पुर्याउने गरी पर्यटन क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।