बुद्धका विचारबारे के भन्छिन् राष्ट्रपति भण्डारी ?

Bidhya Devi Bhandari
लाेकपाटी न्यूज
0 Shares

बुटवल, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उनका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि दिएको योगदानकै कारण उनीप्रति सम्पूर्ण नेपालीले गर्व गर्ने भएकाले उनको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा शान्ति र कल्याण प्राप्त हुने धारणा राखिन् ।

राष्ट्रपति भण्डारीले शनिबार लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औं वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै गौतम बुद्धका उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शक सन्देशका रूपमा स्वीकार एवं अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन गर्न आवश्यक रहेको बताइन् ।

उनले बौद्ध शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन अध्यापन र अनुसन्धानलाई अभिवृद्धि गर्दै राष्ट्रको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वस्थ, स्वच्छ, मर्यादित र उपलब्धिमूलक बनाउने राज्यको नीति रहेको बताइन् ।

उनले लुम्बिनी बौद्ध विश्वविद्यालय राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उच्चस्तरीय बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको बौद्धिक केन्द्र र प्राज्ञिक संस्कृतिमा आधारित उच्चस्तरको शिक्षण तथा रचनात्मक प्राज्ञिक संस्थाको रुपमा विकास हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले बौद्ध दर्शनमा शिक्षा प्रदान गर्न, प्राकृतिक स्रोत र साधनको उपयोग गरी सामाजिक, सांस्कृतिक समृद्धि हासिल गर्न, मूल्यवान पुरातात्विक र ऐतिहासिक स्थलको शोध–अनुसन्धान गरी तिनलाई विश्वमा चिनाउन आवश्यक रहेको बताए ।

उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई सुन्दर पर्यटकीय स्थलका रुपमा विकास गर्ने, ओझेलमा परेका भाषा र संस्कृतिको उत्खनन गरी राष्ट्रको मौलिकतालाई अघि ल्याएर गौरवशाली राष्ट्रिय पहिचान कायम गर्न आवश्यक रहेको बताइन् ।

परम्परागत मान्यताबाट समाजलाई मुक्त गरी गतिशील मूल्य र मान्यताको स्थापना गर्न, लोकतान्त्रिक मूल्य र राष्ट्रियताप्रति सजग रही विश्व शान्तिको सम्बर्द्धन गर्दै सिङ्गो राष्ट्रको सर्वाङ्गीण विकासमा योगदान दिनसक्ने प्रतिस्पर्धायुक्त सबल र दक्ष उच्च जनशक्तिको उत्पादन गर्नुपर्ने आवश्यकतामा राष्ट्रपति भण्डारीले जोड दिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्