राजा महेन्द्र विरोधीका कुरा सुन्थे, सरकारले सुन्नु पर्दैन ? : रामेश–रायन

khusiram progm
लाेकपाटी न्यूज

काठमाडौं, २३ मङ्सिर । जनवादी संस्कृतिकर्मी एवं गायकद्वय रामेश र रायनले राजा महेन्द्रले विरोधीका कुरा सुन्ने गरेको तर अहिलेको सरकारले विरोधलाई बेवास्ता गरेको बताएका छन् ।

आइतबार दिउँसो काठमाडौंमा जनवादी गायक खुसिराम पाख्रिनको स्मृतिमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा उनीहरुले जनता नै इतिहासका निर्माता भएको तथ्य नभुल्न र विरोधीका कुरालाई शिक्षाका रुपमा लिन नेताहरुलाई सुझाए ।

कार्यक्रममा रामेशले भने, ‘हामी पञ्चायतविरुद्धको सांस्कृतिक अभियानमा थियौं, त्यो कुरा राजा महेन्द्रलाई पनि थाहा थियो । राजा महेन्द्रले रामेश र रायनको सांस्कृतिक कार्यक्रम हेर्छु भनेछन् । हामीले भन्यौं, ‘को महेन्द्र, को राजा ? हामी जाँदैनौं ।’ तर, साथीहरुले जनताका गीत गाउँदा पञ्चायतविरोधी आन्दोलनमा सहयोग पुग्ने बताएपछि हामी मञ्जुर भयौं ।’

रामेशले थपे, ‘आजकै यही हलमा हामीले पञ्चायतविरोधी गीत गायौं, राजा महेन्द्र नागरिक भएर हाम्रो प्रस्तुति सुनिरहे । उनी पञ्चायत बलियो बनाउन चाहन्थे । तर, विरोधीका कुरा सुन्ने गुण थियो उनमा । अहिलेको सरकारले पनि विरोधीका कुरा सुन्नुपर्छ, जनताको गुनासो सुन्नुपर्छ, यो त झन् जनताको सरकार हो नि ।’

कार्यक्रममा रामेशले जनताभन्दा आफूलाई शक्तिशाली नठान्न नेताहरुलाई सुझाए । उनले भने, ‘अहिले तपाईहरुप्रति ३ करोड जनताको आशा छ, भरोसा छ, त्यो मर्न नदिनुस् । जनतालाई कमजोर नठान्नुस्, उनीहरुको भावना बुझ्नुस् । हामी आफू कम्युनिष्ट सिद्धान्त र आदर्शमा छौं कि छैनौं भनेर सोच्नुस् । अति भएपछि जनताले बिकल्प खोज्छन्, त्यो हेक्का राखेर काम गर्नुस् ।’

कार्यक्रममा बरिष्ठ गायक रायनले निर्वाचनताका जनतामा गरेका कबुल नभुल्न नेताहरुलाई आग्रह गरे । उनले भने, ‘हामी कहाँ छौं, हाम्रो मूल्य मान्यता कहाँ छ, त्यतातिर फर्केर सोच्नुस् । सांस्कृतिक आन्दोलन धेरै ठूलो कुरा हो, यसको गरिमा नभुल्नुस्, हामीले गणतन्त्रको नारा लगाउँदा, गीत गाउँदा मान्छे हाँस्थे, यो परिर्वतन साना दुखले आएको होइन ।’

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य एवं प्रगतिवादी संस्कृतिकर्मी मणि थापाले सांस्कृतिक रुपान्तरणको मूल्य भुले राजनीतिक आन्दोलन कमजोर हुने बताए । उनले भने, ‘पार्टीले सांस्कृतिक आन्दोलनको मूल्य नभुलोस्, विचार, सिद्धान्त र आदर्शमा राजनीति अडिएको हुन्छ भन्ने कुरा राम्रोसँग बुझोस् र त्यहीअनुसार कार्यक्रम बनाओस् ।’

कार्यक्रममा पूर्वएमाले निकट जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले पार्टीका नेताहरुको सांस्कृतिक स्तर र मूल्य देख्दा कहिलेकाहीँ हिनतावोध हुने बताए । ‘हाम्रो न्यूनतम् आदर्श चाहिन्छ, मूल्य र मान्यता चाहिन्छ । संस्कृतिकर्मीको बाँच्ने आधार र भविष्य चाहिन्छ, पार्टीले त्यतातिर सोच्नैपर्छ ।’

पूर्वमाओवादी केन्द्रनिकट महासङ्घका अध्यक्ष सरल सहयात्रीले पार्टीले सांस्कृतिक आन्दोलनको ‘मर्म र धर्म भुलेको’ बताए । सहयात्रीले भने, ‘सांस्कृतिक आन्दोलन सामान्य विषय होइन, हाम्रो समाजवादी संस्कृति के हो ? समाजवादी अर्थनीति के हो ? समाजवादी आदर्श र मूल्य के हो ? त्यसका पक्षमा स्कुलिङ गरौं । सांस्कृतिक स्कूल खोलौं र जनतासम्म पढाउने अभियान थालौं ।’

सांस्कृतिक कार्यक्रममा जेबी टुहुरे लगायतका कलाकारहरुले खुसीराम पाख्रिनले रचना गरेका, गाएका र संगीतवद्ध गरेका गीतहरु प्रस्तुत गरेका थिए । वक्ताहरुले जनवादी गायक पाख्रिन सदावहार क्रान्तिकारी र वर्गचेतले ओतप्रोत योद्धा भएको बताएका थिए ।

वि.सं. २००९ सालमा जन्मिएका पाख्रिनले प्रगतिवादी सांस्कृतिक आन्दोलनमा ४ दशक व्यतित गरेका थिए । उनी राजनीतिकर्मी, गायक, रचनाकार र संगीतकार पनि थिए । पाख्रिनको एक वर्षअघि हृदयघातका कारण चितवनमा निधन भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्