विज्ञको सुझाव- मेलम्चीको बाँकी काम ‘स्वदेशी ठेकेदारलाई’ दिनु

Melamchi
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ५ पुस । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्वदेशी ठेकेदारलाई दिएर तत्काल पूरा गर्न विज्ञहरूले सुझाएका छन् । जलविद्युत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम गर्न सक्ने बुझाइ उनीहरूको छ ।

पूर्वसचिव एवं आयोजनाका पूर्वप्रमुख सुमन शर्माले ‘हाइड्रो पावर’को काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने बताए । ‘ठेकेदार कम्पनी सीएमसीलाई दिनुपर्ने र उसबाट लिनुपर्ने मूल्यांकन गरेर अन्योल हटाउनुपर्छ,’ उनले भने, ‘अब टेन्डर प्रक्रिया लामो गर्नु हुन्न । छोटो प्रक्रियाबाट स्वदेशी ठेकेदारलाई दिएर छिटो सम्पन्न गर्नुपर्छ ।’

सुरुङ खन्ने काम सकिएकाले हेडवर्कस्, भेन्टिलेसनलगायत काम स्वदेशी ठेकेदारले गर्न सक्ने उल्लेख गर्दै उनले मन्त्रिपरिषद्बाट तत्काल निर्णय गरेर आयोजनासम्बन्धी अन्योल अन्त्य गर्नुपर्ने बताए । आयोजना लम्बिए राजधानीवासीमा निराशा छाउने उनको भनाइ छ । ‘जति ढिला गर्‍यो, हामीलाई नै घाटा हुन्छ, चाँडो गर्नुपर्छ,’ उनले भने, ‘पाइप पुर्ने र धारा जडानलगायत काम भइसकेका छन् ।’

आयोजनाका पूर्वकार्यकारी निर्देशक रामचन्द्र देवकोटाले ठेक्काबारे नयाँ प्रक्रिया अपनाउँदा करिब ६ महिना लाग्ने भएकाले मन्त्रिपरिषद्ले तत्काल टुंग्याउनुपर्ने सुझाव दिए । ‘नयाँ प्रक्रिया अपनाउँदा शून्यबाट सुरु गर्नुपर्छ,’ उनले भने, ‘स्वदेशी ठेकेदारले काम गर्न सक्छन्, त्यसकारण छोटो विधि र प्रक्रिया अपनाउनुपर्छ ।’ मेलम्ची लम्बिए याङ्ग्री र लार्केबाट थप दैनिक १७/१७ करोड लिटर पानी ल्याउनसमेत ढिलाइ हुने भन्दै उनले निर्णय लिन सरकारले ढिलाइ गर्न नहुने बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्