काठमाडौं, ५ पुष । उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न सरकारसँग माग गरेको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर मिटर समायोजन–२०६९ लाई परिमार्जित गरेर वैज्ञानिक रुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेको हो । ट्याक्सी चालक पूर्ण तामाङले वर्तमान सरकार मजदुरहरुको हितमा विपरीत काम गर्न उद्देलित भएको आरोप लगाएका छन् ।
उनले भने, ‘सरकार ट्याक्सी चालकलाई आफ्ना नागरिक होइनन् जस्तो व्यवहार गरिरहेको छ । अर्को हामीले परिवर्तनका लागि पार्टीको झण्डा बोक्यौं, पसिना र रगत बगायौं तर आज हाम्रा अधिकारका बारेमा कुनैपनि राजनीतिक दल गम्भीर छैन । बोल्न तयार छैन ।’
सरकारसँग आफूहरुले वैज्ञानिक रुपमा भाडादर कायम गर्न माग गरेको सुनाउँदै उनले भने, ‘आन्दोलनमा उत्रेर बाधा सिर्जना गर्ने हाम्रो सोच होइन, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि सरकारले पालना गरोस् भन्ने हाम्रो माग हो । त्यस्तै अर्का चालक राम थापाले ट्याक्सी चालकहरुमाथि भैरहेको आक्रमणप्रति सरकार गम्भिर नभएको आरोप लगाए ।
उनले भने,‘सरकारले हामीलाई कारबाही गरिहेको छ, हामीले चर्को रुपमा कर तिरेका छौं । तर, सरकारले हाम्रो सुरक्षा दिन सकेको छैन । हिजोमात्रै एकजना ट्याक्सी चालक साथीको आँखा फोडिएको छ, केही दिन अघि सुर्यविनायकमा ज्यान लिनेगरि आक्रमण भएको थियो । यस्तो गम्भीर हत्या र हिंसामा संलग्नलाई सरकारले किन कारबाही गर्न सकेको छैन ?’
उनले अघि थपे, ‘हरेक चिजको मुल्यबृद्धि भएको छ, २०६९ सालमा ट्याक्सीको रुट परमिट लिँदा दुई सय ५० तिर्नुपर्थ्यो । अहिले पाँच सय तिर्नुपर्छ, जाँचपास ५० थियो, अहिले दुईसय तिर्नुपर्छ, इन्सुरेन्स तेस्रो पक्षलाई पाँचसय थियो भने अहिले ७ हजार ८ सय छ । फुल इन्सुरेन्सको लागि ३४ हजार छ, तीन वर्ष पहिले बैंक ब्याजदर ८.२५ प्रतिशत थियो, अहिले १३ देखि १५ प्रतिशत पुगेको छ । ६ हजार कर बढेर १३ हजार पुगेको छ, नयाँ कम्पनी दर्ता गर्दा १५ हजार लाग्छ, यस्तो स्थितिलाई नदेख्ने तर केही ट्याक्सी चालकका सामान्य कमजोरीलाई लिएर सिङ्गो ट्याक्सी चालकको भावनामाथि चोट पुग्ने खालको सम्बोधन गर्ने ?’