अपराध अनुसन्धान अब मोवाइल भ्यानबाटै

mobile van- nepal prahari 01
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, ५ पुस । नेपाल प्रहरीले अपराध अनुसन्धानमा महत्वपूर्ण मानिने फोरेन्सिक इन्भेष्टिगेसन मोबाइल भ्यानबाट सञ्चालन गर्ने भएको छ । अपराध हुँदा सूक्ष्मरुपले अनुसन्धान गर्न मिल्ने अत्याधुनिक उपकरणजडित उक्त भ्यान प्रहरी प्रधान कार्यालय काठमाडौँले आज महानगरीय प्रहरी अपराध माहाशाखा टेकुलाई हस्तान्तरण गरेको हो । प्रहरीले भारतको हेलिक कम्पनी पुनेबाट सो भ्यान खरिद गरेको हो ।

रु. ९६ लाखमा खरीद गरिएको उक्त भ्यानमा रु. ४६ लाख बराबरका १६ प्रकारका अनुसन्धान उपकरण जडान गरिएको छ । यस भ्यानमा चालकसहित ११ जना अनुसन्धान विषेशज्ञ घटना स्थलमै पुगेर अनुसन्धान गर्न सक्ने छन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मोबाइल भ्यानमा अपराध अनुसन्धानका लागि अत्यावश्यकपर्ने आधुनिक उपकरण जडान गरिएको जानकारी दिए । उनले महानगरीय प्रहरी अपराध माहाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहलाई आज भ्यानको साँचो हस्तान्तरण गर्दै सङ्गठनलाई साधन स्रोत तथा प्रविधियुक्त बनाउन सङ्गठनको प्राथमिकता रहेको बताए ।

यस्ता प्रविधिलाई प्रदेशमा पनि विस्तार गर्दै लैजाने उनको भनाइ छ । उनले अनुसन्धानमा खटिने प्रहरी अधिकृतले यस्ता प्रविधिको भरपुर सदुपयोग गर्न निर्देशन दिए ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका तर्फबाट प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्यायले भ्यानको विशेषताबारे जानकारी दिँदै अपराध अनुसन्धानलाई थप प्रभावकारी र वैज्ञानिक बनाउने विश्वास व्यक्त गरे ।
महानरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरज प्रताप सिंहले उक्त मोवाइल फोरेन्सीक भ्यानबाट अनुसन्धानमा खटिने टोलीले घटना स्थलका सम्पूर्ण प्रमाणहरुलाई तत्काल सुरक्षीत गर्न मदत गर्ने बताए । प्रारम्भिक अनुसन्धामा भ्यान महत्वपूर्ण हुने एसएसपी सिंहले जानकारी दिए ।

महाशाखाका अनुसार घटना स्थलमा तत्काल परिचालित भई प्रभावकारी घटनाको सुक्ष्म अनुसन्धान गरी सबुत प्रमाण संकलन गरी घटनाको पहिचान घटना स्थलबाटै गर्न सकिने छ । साथै वैज्ञानिक ढंगबाट घटनाको अनुसन्धान गर्न सहयोग गरी जघन्य प्रकृतिको कसुरको अनुसन्धानमा उक्त भ्यान महत्वपूर्ण रहेको जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्