काँग्रेस विधान : १३ पदाधिकारी राख्ने सहमति

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ६ पुस । नेपाली काँग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ ।

शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने सहमति भएको उनले बताए ।

प्रवक्ताले शर्माका अनुसार शीर्ष नेताबीच भएको सहमतिलाई आजै केन्द्रीय समिति बैठक बसेर पारित गरिनेछ । केन्द्रीय समितिबाट पारित भएपछि विधान मस्यौदा प्रतिवेदन भोलिको महासमिति बैठकमा पेश गर्ने पार्टीको तयारी छ । काँग्रेसको महासमिति बैठक गत मङ्सिर २९ गतेदेखि काठमाडौँमा जारी छ ।

यसअघि सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षको आ–आफ्नै अडानका कारण विधानमा सहमति हुन सकेको थिएन । महासमिति बैठक आरम्भ भएको एकसाता भइसक्दा पनि विधान मस्यौदासम्बन्धी प्रतिवेदन बैठकमा पेश हुन सकेको थिएन ।

काँग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले तयार गरेको प्रतिवेदनमा यसअघि गत मङ्सिर १३ देखि २२ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कार्यसमितिमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्